काठमाण्डौ

आचारसंहिता उल्लङघन गरेमा उमेद्धवारी खारेजी समेत हुन सक्दछ ः थपलिया
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कात्तिक १७ गतेदेखि निर्वाचन प्रचार प्रसारको अर्को चरण सुरु हुने भएकाले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह गरेका छन् । निर्वाचन आयोगले वुधवार गरेको नियमित पत्रकार भेटघाटमा प्रमुख आयुक्त थपलियाले यस्तो आग्रह गरेका हुन् ।
आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्रहरू परिचालन गरिरहेको उल्लेख गर्दै प्रमुख आयुक्त थपलियाले दल तथा उम्मेदवारहरूलाई आचारसंहिता पालना गरेर त्यस्ता संयन्त्रहरू प्रयोजनहिन सावित गरिदिन आग्रह गरेका थिए । आचारसंहिता उल्लघंनका विषयमा हालसम्म ७१ वटा उजुरी परेको उल्लेख गर्दै ती स्पष्टीकरणहरूका लागि आएको जवाफको अध्ययन गर्ने तथा तथ्य जुटाउने क्रम जारी रहेको प्रमुख आयुक्त थपलियाले वताए । पहिलो स्पष्टीकरणमा चित्त नबुझेमा दोस्रो स्पष्टीकरण सोध्ने र उल्लघंनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्ड जरिवाना तथा उम्मेदवारी खारेजीसम्मको निर्णयमा जानुपर्ने हुन सक्ने थपलियाले पत्रकार सम्मेलनमा वताए ।
निर्वाचनमा सबै पक्षको सहभागिता हुने आयोगको अपेक्षा रहेको र निर्वाचन बिथोल्न हुन सक्ने गतिविधिको नियन्त्रणका लागि सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको थपलियाले वताए । प्रमुख आयुक्त थपलियाले मतदानका दिन सवारी साधनको व्यवस्थित र नियन्त्रित सञ्चालनबारे सम्बन्धित निकायका प्रतिनिधिसहितको कार्यदलले काम गरिरहेको जानकारी दिदै दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै अनलाइन सञ्चारमाध्यममा पनि विज्ञापनबाट प्रचारप्रसार गर्न सक्ने स्पष्ट पारेका थिए ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था अनुसार कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।