पोखरा फागुन २४,
पोखरा महानगरपालिकाले महानगरपालिका भित्र सञ्चालन भएका तर उत्पादन लागतमा नोक्सानी बेहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । बुधवार आयोजित एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख धनराज आचार्यले ती फार्महरूलाई समर्थन मूल्य प्रदान गरे । ६० हजार ४४१ केजी च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको रु.२६ लाख ७९ हजार ७६१ समर्थन मूल्य प्रदान गरिएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले वताए । पोखरा महानगरपालिका भित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका कृषकहरूलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको महानगरपालिकाले जनाएको छ ।
यसरी न्यूनतम समर्थन मूल्य पाउनेहरुमा १६ वटा कृषि फर्म रहेका छन् । चिसापानी च्याउ फार्म पोखरा २२ ले ११ हजार १६६ केजी च्याउको रु.४ लाख ८५ हजार ९४० , भुर्जङ्खोला च्याउ फार्म पोखरा १९ले ७ हजार ५६० केजी च्याउको रु.३ लाख ६२ हजार ९२०, शोभा अर्गानीक मल्टी एग्रो फार्म पोखरा २६ले ९ हजार ७१४ केजी च्याउको रु.३ लाख १७ हजार ४४, ग्रिन लाई मसरुम फार्म पोखरा २४ ले रु.३ लाख १ हजार ७४० पाएका छन् । त्यसै गरि सुवेदी च्याउ तथा तरकारी फार्म पोखरा ३३ ले ९ हजार ११३ केजी च्याउको रु.३ लाख ८२२, काँहु सिस्नेरी एग्रो फार्म पोखरा ११ ले ५ हजार २२५ केजी च्याउको रु.१ लाख ७४ हजार २२६, भोर्लेटार च्याउ उद्योग पोखरा ३२ ले ६ हजार २०३ केजी च्याउको रु.१ लाख ६८ हजार ७०६, अधिकारी अर्गानीक च्याउ फार्म पोखरा १४ ले २ हजार ७२४ केजी च्याउको रु.८३ हजार ४४४ र वि.मु अधिकारी च्याउ फार्म पोखरा १४ ले १ हजार २५६ केजी च्याउको रु.४९ हजार ६०० न्यूनतम समर्थन मूल्य प्रप्त गरेका छन् ।
यस्तै एस के कँडेल कृषि फार्म पोखरा २८ ले ३ हजार ९५० केजी सिमीको रु.६९ हजार ९५०, पोखरा कुखुरा तथा कृषि फार्मले ३ हजार ६७० केजी सिमीको रु.६२ हजार ८९०, राति पोखरी कृषि फार्म पोखरा २२ ले ८२५ केजी सिमी र १ हजार ७५४ केजी गोलभेँडाको रु.३५ हजार ४२१, निलम कृषि फार्म पोखरा ले २ हजार ६७ केजी गोलभेँडाको रु.२३ हजार ४७५, रोशन एन्ड रोहित कृषि फार्म पोखरा १४ ले २१ हजार ३१४ केजी गोलभेँडाको रु.२ लाख १९ हजार ३२९, पोखरा हिमाल कृषि फार्म पोखरा ले १ हजार ७५ केजी सिमी र २८२ केजी गोलभेँडाको रु.१५ हजार ५२४ र हरियाली कृषि फार्म पोखरा ३३ ले २९१ केजी कोदोको रु.८ हजार ७३० प्रप्त गरेको पोखरा महानगरपालिकाले जनाएको छ ।
कृषकहरूलाई समर्थन मूल्य प्रदान गर्दै प्रमुख आचार्यले पोखरा महानगरपालिका कृषकहरूको साथमा रहेको वताए । कृषि उपजहरूको सुरक्षित ढुवानीका लागि सञ्चालन गरिएको कृषि एम्बुलेन्स र समर्थन मूल्य कृषि व्यवसाय र कृषकहरूका लागि निकै महत्त्वपूर्ण भएको प्रमुख आचार्यले वताए । कृषि व्यवसायमा लागेका कृषकहरू हतोत्साहित हुन नपरोस् भनी यसलाई थप प्रभावकारी वनाईने भन्दै प्रमुख आचार्यले पोखरा महानगरपालिका भित्र कृषि उत्पादन र कृषि व्यवसायको प्रवर्द्धनका लागि आवश्यक प्राविधिक सहयोगका लागि पोखरा महानगरपालिका प्रतिबद्ध रहेको वताए । समर्थन मूल्य प्राप्त गरेपछि कृषकहरूले कृषि व्यवसायका क्रममा आफूले बेहोर्नु परेको नोक्सानीमा मलहम लगाउन पोखरा महानगरपालिका सारथी बनेको प्रतिक्रिया दिएका छन् । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजहरूको समर्थन मूल्य तोकेको छ ।