पोखरा फागुन २,
श्रोत नखुलेका सुनका गरगहना, काँचो सुन, चाँदी र मोटो रकम सहित भारतिय नागरिकलाई कास्की प्रहरीले हिजो पोखरावाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं २ मोहोरियाटोलवाट भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर–११ स्थायी घरभएका ४० वर्षका सुरजित भौमिक लाई कास्की प्रहरीको टोलीले माघ २९ गते साँझ देखि फागुन १ गते विहान सम्मको प्रयास पछि १ गते बिहान ४.३० वजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए । पक्राउ परेका भारतिय नागरिक भौमिकले पोखरा २ मोहोरियाटोल स्थित कविन्द्र प्रसाद श्रेष्ठको घर भाडामा लिएर अवैध कारोवार सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नं.२ मोहरियाटोलमा कविन्द्र प्रसाद श्रेष्ठको घर भाडामा लिएका भारतको पश्चिम बंगाल घर भएका सुरजित भौमिकले अवैध सुन ल्याई विभिन्न गरगहना बनाई वेचविखन तथा कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुगेको थियो । प्रहरीले छापा मार्दा भौमिकले भाडामा लिएको श्रेष्ठको उक्त घरको विभिन्न कोठामा लुकाई छिपाई राखेको अवस्थामा निजले तत्काल स्रोत खुलाउन नसकेको विभिन्न किसिमका सुनका गरगहना, काचो सुन, चाँदी र नगद सहित भौमिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसरी पक्राउ परेका भारतिय नागरिक भौमिकलाई अवैध सामाग्री सहित हिजो साँझ प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो । उनलार्ई थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाहीको लागि वरामद सुन, चाँदी, नगद, बरामद सामान सहित राजस्व अनुसन्धान विभाग पठाईएको समेत प्रहरीले जनाएको छ ।
प्रहरीले उनले भाडामा लिएको कोठावाट विभिन्न किसिमका सुनका गरगहनाहरू–५ केजी २०० ग्राम, काँचो सुन– ९९९.९० ग्रामको एक ढिका (विस्कुट)– १ थान, ५० ग्रामको १ ढिक्का,(विस्कुट)– १ थान,चाँदी – ६ केजी,नगद –रु.६२,८१,०००।–(बैसठ्ठी लाख एकासी हजार),मोवाइल – १ थान ,आधार कार्ड – १ थान ,विभिन्न बैंकका चेकहरू – १३ थान ,डायरी – २ थान ,रजिष्ट्ररहरू – ७ थान नियन्त्रणमा लिएको जनाएको छ ।