पोखरा वैशाख २१,
क्षत्री महिला समाज नेपाल, कास्कीले शनिवार पोखरामा गरेको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट रक्त संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी, प्रादेशीक रक्त संचार सेवा पोखराको प्राविधिक सहयोगमा पृथ्वीचोकमा गरिएको रक्तदानको शुभारम्भ पहिलो रक्तदाता तथा समाजका केन्द्रीय महासचिव कृष्ण बहादुर थापालाई व्लड व्याग हस्तान्तरण गरि गरिएको थियो । उक्त व्याग समाजका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि रिब बहादुर थापाले हस्तान्तरण गरेका थिए । महासचिव थापाको यो ८१ औं पटकको रक्तदान भएको जनाईएको छ । कार्यक्रममा प्रमुख अतिथि थापाले समाजका महिला दिदिबहिनीहरुले रक्तदान आयोजना गरेकोमा आभार व्यक्त गर्दै रक्तदान कार्यक्रम आयोजना गरेर क्षत्री महिला समाज नेपाल, कास्कीले सबैभन्दा ठूलो पुण्यको काम गरेको बताए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीकी नवनिर्वाचित सभापति उर्मिला खड्काले महिलाहरु अग्रसर भएर जिवन बचाउने अभियानमा जोडिनु र रक्तदान कार्यक्रम आयोजना गर्नु धेरै राम्रो काम भएको बताईन् । संयोगले ६० वर्षको इतिहासमा कास्की रेडक्रसले महिला नेतृत्व पाएको र महिलालेनै आयोजना गरेको कार्यक्रममा सरिक हुन पाउँदा आफुलाई गर्व लागेको खड्काले वताईन् ।
कार्यक्रमका अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले समाजलाई स्वस्थ बनाउन र आफु पनि स्वस्थ रहन रक्तदान अति आवश्यक भएको बताए । कार्कीले आफुले हरेक तीन तीन महिनामा रक्तदान गर्ने गरेको र अरुलाई पनि रक्तदान गर्न आग्रह गरे । नियमित रक्तदानले आफु पनि स्वस्थ भईने र अरुको जिवन बचाउन सकिने कार्कीले वताए ।
कार्यक्रममा आयोजक संस्था क्षत्री महिला समाज नेपाल, कास्कीका अध्यक्ष गंगा देउजा के.सी.ले समाजमा बसेपछि सामाजिक उत्तरदायित्व बहन गर्नु आफुहरुको कर्तव्य भएको वताउदै क्षत्री महिलाहरुलाई विभिन्न सामाजिक कार्यमा अग्रसर गराईरहेको परिप्रेक्षमा रगतको अभावमा जीवननै जोखिममा परेका कसैको पनि जिवन बचाउन सहयोग पुग्ने उदेश्यले रक्तदान आयोजना गरिएको वताईन् । सितलदेवी माविका कक्षा ७ का विद्यार्थी सार्थक अधिकारीले आफुले रगतको बारेमा चासो लिने गरेको बताउँदै हरेक व्यक्तिले तीन तीन महिनामा रक्तदान गरेर रगतको अभावमा छटपटिएका कसैको जिवन बचाउन अग्रसर हुनुपर्नेमा जोड दिए । क्षत्री महिला समाजका सचिव माया भण्डारीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष अर्चना बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।