पोखरा वैशाख ११,
– नवराज सुवेदी
वैशाख ११ गते लोकतन्त्र दिवस । नेपाली जनताले आन्दोलन गरेर आफ्नो अधिकार प्राप्त गरेको दिन । २०६२÷०६३ सालको आन्दोलनवाट नेपाली जनताले जितेको र निरंकुश राजसंसथाले हारेको दिन २०६३ साल वैशाख ११ गते । तत्कालिन राजा ज्ञानेन्द्र जनआन्दोलनको वलमा पराजित भएर नेपाली जनताले लोकतान्त्रिक व्यवस्था ल्याउन सफल भएको दिन वैशाख ११ गते मुलकभरी विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाउने गरिन्छ । यो वर्ष पनि १९ औ लोकतन्त्र दिवस मनाईदै छ । लोकतन्त्र दिवस मनाईरहदा एकातिर प्रतिगामी र पुर्नउत्थानवादीहरु लोकतन्त्रको विरुद्धमा सलवलाई रहेका छन् भने अर्को तिर हिजो लोकतन्त्र ल्याउन जीवनको वाजी लगाएर आन्दोलनको मोर्चामा खटेकाहरु खुसी छैनन् । निरंकुश राजतन्त्र लगायतका सवै खाले निरंकुशताको नेपाली जनताले लडेर अन्त्य गरेका हुन् । नेपाली जनताले लोकतन्त्र कसैको निगाहमा पाएका हैनन् । आज शासन सत्तामा वस्ने राजनितीक दलका नेताहरु लोकतन्त्र ल्याउनका लागि साधक मात्रै हुन् मुख्य भूमिकामा नेपाली जनता थिए । जनताको समर्थन नभएको भए दलका सिमित नेताहरुले मात्रै लोकतन्त्र ल्याउन सक्दैनथे । त्यसरी ल्याएको व्यवस्थामा जनता खुसी छैनन् । नेताहरुकै कारण जनताको मन भाँचिएको छ । मन अमिलो भएको छ । नेताहरुको कार्यशैली, व्यवाहार, उनिहरुको जीवनशैली, शासन गर्ने तौर तरिका, कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृतिले जनता आजित भएका छन् । तथापि जनता लोकतन्त्र र लोकतान्त्रीक शासन प्रणाली प्रति प्रतिवद्धनै रहेका छन् ।


लोकतन्त्रको विकल्प अझै उन्नत खालको लोकतन्त्र हो । उन्नत खालको लोकतन्त्र भनेको नेताहरुको कार्यकर्तालाई र जनतालाई भाषण गरेर झुक्याउने खालको लोकतन्त्र हैन । उन्नत खालको लोकतन्त्र भनेको जनताले हरेक क्षेत्रवाट सन्तुष्टी प्राप्त गर्न सक्ने खालको व्यवस्था हो । जनताले हाल राजा चाहिन्छ भनेर गरिएका आन्दोलनहरुमा समर्थन गरेका छैनन् । उनिहरु राजतन्त्र चाहादैनन् । उनिहरु लोकतन्त्र प्रति प्रतिवद्ध छन् यसको अर्थ यो होईन की लोकतन्त्रमा नेताहरुले वद्धमासी गरिरहदा सहिरहने चाहि कदापि हैन । नेपाली जनताले धैर्य गरिरहेका छन् । उनिहरु राजनितीक पार्टिका नेताहरु सच्चिएर आउन् भन्न चाहान्छन् । समकालिन राजनितीका ठूला साना दलहरु कसले के गरिराखेका छन् ति पार्टिका कुन कुन नेताले के गरिराखेका छन् । कस्तो व्यवाहार र रवैया अपनाईरहेका छन् त्यसको हिसावकिताव राम्ररी राखेका छन् । केही समय जनतालाई ढाँट्न सकिन्छ तर लामो समयसम्म कसैलाई पनि ढाँट्न सकिदैन धेरै लामो समय जनतालाई टढाँटियो भने जनतामा रहेको धैर्यताको वाँद फुट्न सक्दछ यो कुरा नेताहरुले लोकतन्त्र दिवसको अवसरमा राम्रो संग स्मरण गर्नुपर्दछ । जनता कसैका दास र रैति हुदैनन् भन्ने कुरा नेपालमा भएका विभिन्न समयका आन्दोलन निर्वाचनमा जनताले दिएको अभिमतको आधारमा भन्न सकिन्छ । लोकतन्त्र प्रप्त गरिसकेपछि हामीले गणतन्त्र पनि घोषण गरेका छौ । मुलुकमा संघिय लोकतन्त्रात्मक संविधान वनेको छ । ब्यवस्थाको हिसावले उन्नत व्यवस्था नेपाली जनताले प्राप्त गरेका छन् तर व्यवाहारमा जनता आत्तिएका छन् । निराश भएका छन् । के गर्ने कसो गर्ने भन्ने अवस्थामा रहेका छन् । जनताको यो निराशालाई हटाउन मुलुकको नेतृत्व गर्ने राजनितीक दल र तिनका नेताहरुले आफुहरुलाई निर्मम तरिकाले समिक्षा गर्दै सुधार्नुपर्ने आवश्यकता छ ।
आज मुलुकमा वेरोजगारी व्याप्त छ । नेपालमै पढेर रोजगार पाउने संभावना निक्कै कम छ । युवा पुस्ता मुलुकमा कुनै पनि प्रकारको आशा र संभावना नदेखेर विदेश पलायन भईरहेको छ । १२ कक्षा पास भएपछि २० वर्षको उमेर पुग्दा नपुग्दै पढ्नका लागि भनेर विदेशका गल्लीहरुमा भौतारीरहने अवस्था छ । रोजगारी खोज्न अरवका खाडिहरु र युरोपका कतिपय देशहरुमा जानेहरुको पिडा त झनै डरलाग्दो छदै छ । सरकारमा वस्नेहरु वैदेशिक पलायनलाई रोक्नुको साटो आफ्नै छोराछोरीहरुलाई नेपालमा भविश्य नदेखेर विदेश पठाईरहेका छन् । एकातिर मुलुकमा यति डरलाग्दो वेरोजगारी समस्या छ भने रोजगारमिा रहेकाहरुमा पनि आन्दोलन गरेमा सवै थोक प्राप्त गर्न सकिन्छ भन्ने भ्रम छ । आफ्ना मागहरु पुरा गराउन महिनौ आन्दोलन गर्ने र सरकार उनिहरुसंगै निरिह वन्ने खालको अवस्थाले मुलुक वर्वार्दी तिर गईरहेको छ । सरकारी कोषवाट तलव भत्ता खाने राष्ट्र सवेक शिक्षक कर्मचारीहरु सरकारले भनेको नमान्ने र उनिहरुलाई सरकारले केही पनि गर्न नसक्ने खालको दण्डहिनता वढेर गएको छ । लोकतन्त्र दिवसको अवसरमा नेताहरुले यस्ता विषयमा पनि आत्म समिक्षा गर्नुपर्ने देखिन्छ । संविधान वनेको पनि ९ वर्ष पुगेर १० वर्ष लागेको छ । संविधानमा पनि केही कुरा संसोधन गर्नुपर्ने विषयहरु होलान् त्यतातिर दलहरु लाग्नुपर्दछ । संविधान संसोधनको नारा केवल सत्ता प्रप्तीको माद्यम मात्रै वनेको जस्तो देखिएको छ । दुई ठूला दलको सरकार मुलुकमा हुँदा पनि जनताको निराशा ईतिहाँशमै वढि देखिनु पक्कै पनि राम्रो लक्षण होईन भन्ने कुरा जिम्वेवार राजनितीक दलका नेताहरुले वुझ्नु पर्दछ । लोकत्त्रले नेताहरुमा सद्धवुद्धि प्राप्त गरोस् । आफु मात्रै वुझेको अरुले केही पनि नवुझेको भन्ने भ्रम नेताहरुले त्याग्नुपर्ने भएको छ । जनताको वलमा मात्रै आफुहरु नेता भएको जनताले छाड्दाको दिनमा पुग्ने सडमानै हो भन्ने कुराको स्मरण गर्दै आज हामी संग यति सिट छ , यति जनता छन् भन्ने दम्भ नगर्न पनि लोकतन्त्र दिवसले नेताहरुलाई मार्ग निर्देश गरोस् । लोकतन्त्रलाई नेताहरु र केही मानिसहरुको मात्रै हैन वास्तवमै नेपाली जनता खुसी हुने उन्नत लोकतन्त्र वनाऔ । लोकतन्त्र दिवसको सवैमा शुभकामना ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।