पोखरा वैशाख २६,
पर्यटन प्रवद्र्धन, पर्यावरण संरक्षण तथा पदयात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाको श्री कृष्णदल गणले अन्नपूर्ण पदमार्ग क्षेत्रको सरसफाई गरेको छ । सेनाको पश्चिम पृतना अन्तर्गत श्री नं. ३ वाहिनी अड्डाको निर्देशनमा सञ्चालन गरिएको अभियान बैशाख २१ गतेदेखि २५ गतेसम्म पाँच दिनसम्म सञ्चालन गरिएको थियो । पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नुका साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण अन्नपूर्ण पदमार्ग क्षेत्रलाई स्वच्छ, सुरक्षित र आकर्षक बनाउनु यस अभियानको मुख्य उद्देश्य रहेको अभियानको नेतृत्वकर्ता श्री कृष्णदल गणका गणपति, प्रमुख सेनानी राजेन्द्र पुडासैनीले बताए ।

विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका क्षेत्रका झिनु, छोम्रोङ, तल्लो छोम्रोङ, गुर्जुङ, सिनुवा र बम्बु जस्ता मुख्य गन्तव्यहरूमा सरसफाई कार्य सञ्चालन गरिएको थियो । अभियानमा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना एक्याप का प्रतिनिधिहरू, स्थानीय होटल व्यवसायी, आमा समूह तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो ।
पाँच दिनसम्म चलेको अभियानको अन्तिम दिन करिब २९० के.जि. फोहोर संकलन गरिएको थियो । स्थानीयले यस्ता गतिविधिहरूले पर्यावरण संरक्षणमा मात्र होइन, दीर्घकालीन रूपमा दिगो पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान र्पुयाउने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याए । अभियानले सेनाको सामाजिक उत्तरदायित्व तथा सामुदायिक सहभागितामूलक प्रयासलाई बल र्पुयाएको छ भने, पर्यावरणीय चेतना अभिवृद्धि गर्न समेत सहयोग पुगेको समेत स्थानियले बताएको श्री कृष्णदल गणले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।