पोखरा आषाढ २९,
पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य र एसियाली विकास वैकका निर्देशक सल्लाहकार मोहम्मद जाविवको टोली विच भेटघाट भएको छ । भेटघाटका क्रममा पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडी बढाउने विषयमा छलफल भएको प्रमुख धनराज आचार्यले जानकारी दिए । प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल) लगायतको सहभागिता थियो । टोलीमा परियोजना निर्देशक चूडाराज ढकाल, यातायात विज्ञ भूपेन्द्र भट्ट, परियोजना विश्लेषक प्रमोद पुडासैनी र प्रोजेक्ट म्यानेजर (पोखरा खण्ड) अमित कुमार श्रेष्ठ लगायत सहभागी रहेको महानगरपालिकाले जनाएको छ ।
सो अवसरमा प्रमुख आचार्यले महानगरपालिकाको तर्फबाट यस खण्डमा काम अगाडी बढाउन कुनै समस्या नरहेको र काम गर्दै गर्दा कुनै प्रकारको समस्या देखिए त्यसको तत्काल समाधानका लागि महानगरपालिका प्रतिबद्ध रहेको वताएका थिए । प्रतिनिध मण्डल संग प्रमुख आचार्यले पोखरा खण्डको राइट अफ वे खालि गराउने काम सम्पन्न गरिसकिएको, केही स्थायी संरचनाहरू मुआब्जाको प्रक्रिया सकिना साथ हटाइने वताएका थिए । पोखरा खण्डको काम अघि बढाउन एडिबीको टोली सकारात्मक देखिएको प्रमुख आचार्यले वताए ।
पृथ्वी राजमार्गको पोखरा मुग्लिन खण्ड एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा ४ लेनको सडक वनाउने गरि निर्माण भईरहेको छ । सडक विस्तारका क्रममा सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल २–२ लेनको दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ भने, सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा ४ वटा ठुला र १२ वटा साना पुल निर्माण हुने वताईएको छ । पोखरा देखि तनहूँको कोत्रे सम्म पोखरा महानगरपालिकाको क्षेत्र पर्दछ ।