पोखरा माघ २९,
पोखरा महानगरपालिकाको १४ औँ नगरसभा विभिन्न विधेयक तथा प्रतिवेदनहरू पारित गर्दै सम्पन्न भएको छ । पौष २९ गते सुरु भएको नगरसभा आइतबार सम्पन्न भएको हो । पोखरा महानगरपालिकाको परिषद सुरु हुनु अगावै नेपाली काँग्रेसका वडा अध्यक्षहरुले महानगरपालिकाले वढाएको कर फिर्ताको अडान लिएका थिए भने महानगरमा वहुमत सदस्य रहेको नेपाली काँग्रेसको कास्की जिल्ला र पोखरा महानगर समितिले महानगरपालिकाले वढाएको कर फिर्ता नभए आन्दोलन गर्ने सम्मको चेतावनी दिएको थियो । त्यसपछि मद्यमार्गि उपाय खोज्दै नगर परिषदको वैठकवाट करको दर पुनरावलोकन सम्वन्धि अध्ययन गर्न नेपाली काँग्रेसको तर्फवाट निर्वाचित वडा नं ४ का वडा अध्यक्ष देव कृष्ण पराजूलीको संयोजकत्वमा एक समिति गठन भएको थियो उक्त समितिमा नेपाली काँग्रेस र नेकपा एमालेका वडा अध्यक्ष तथा वडा सदस्यहरु समेत रहेका थिए । उक्त समितिले दिएको सुझावको आधारमा परिषदले कर छुट दिने निर्णय गरेको छ । समितिको सुझावको आधारमा आधारमा एकीकृत सम्पत्ति कर र भूमि करमा आषाढ मसान्त सम्म १५ प्रतिशत र व्यवसाय करमा १० प्रतिशत छुट दिने निर्णय नगर परिषद वैठकले गरेको छ । यसअघि तिरिसकेको हकमा आगामी आर्थिक वर्षको तिनु पर्ने करमा समायोजन गर्ने निर्णय नगर सभाले गरेको छ ।
नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेद्वारा प्रस्तुत भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८० र बाल अधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक सर्वसम्मतिले पास गरेको हो । यस्तै पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मन्जुदेवी गुरुङद्वारा प्रस्तुत समितिको अर्धवार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समितिका संयोजक झपट बहादुर रानाभाटद्वारा प्रस्तुत सार्वजनिक लेखा समितिको प्रतिवेदन पनि सर्वसम्मतिले पारित भएको छ ।
नगर सभाले ठूलो संख्यामा कर्मचारीको दरवन्दी पनि स्वीकृत गरेको छ । महानगर मातहत सञ्चालित स्वास्थ्य संस्थाहरूमा पदपूर्ति सहित थप जनशक्ति व्यवस्थापन गर्न १५४ जनाको दरबन्दी स्वीकृत गरेको छ । जसमा ४ मेडिकल अधिकृत, १ जनस्वास्थ्य अधिकृत, २९ हेल्थ असिस्टेन्ट, २८ अहेव, ४३ अनमी, ४ स्टाफ नर्स, ल्याब असिस्टेन्ट ९, फार्मेसी २, वैद्य १, कविराज २, सहायक कम्प्युटर अपरेटर २ र २९ आवश्यक पदको दरबन्दी रहेको छ । त्यसै गरि नगर सभाले रिक्त महानगरको न्यायिक समिति सदस्य पदमा पोखरा १३ की वडा सदस्य रजनी परियारलाई नियुक्त गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।