पोखरा ,असोज १७,
यु.एन.डि.पि नेपाल तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा ग्लोबल ट्राभल एण्ड टुरिजम पार्टनर नेपाल र टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट द्वारा हालै काठमाडौंमा सम्पन्न भएको राष्ट्रिय पर्यटन सम्मेलनमा आयोजित विभिन्न विधासँग सम्बन्धित प्रतियोगितामा पोखरा–१७ विरौटामा रहेको बालोदय माध्यमिक विद्यालयले नेशनल च्याम्पियनको उपाधी हात पारेको छ । उक्त सम्मेलनमा साँस्कृतिक नृत्य प्रतियोगिता, पर्यटन सम्बन्धी रिसर्च रिपोर्ट र पावरपोइन्ट प्रेजेन्टेशन कम्पिटिशन तथा ट्राभल फोटो कन्टेस्टका तीनवटै विधाहरुमा बालोदय माध्यमिक विद्यालयका विद्यार्थीहरुले सर्वोत्कृष्ट प्रस्तुति गरी न्याशनल च्यामपियन बन्न सफल भएको विद्यालयले जनाएको छ । साँस्कृतिक नृत्य प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू प्रेणा गुरुङ, स्नेहा पुन, एन्जिला गुरुङ, दक्षिणा बराल, नवराज गुरुङ र विजय चालिसेले प्रथम स्थान हासिल गरेका थिए भने पर्यटनका विषयमा तयार पारिएको रिसर्च रिपोर्ट र पावरपोइन्ट प्रस्तुतिकरण प्रतियोगिताको उपाधि कक्षा ११ का विद्यार्थीद्वय दक्षिणा बराल र विजय चालिसेले जितेका छन् । प्रतियोगिताका विजयी विद्यार्थीहरू एवम् विद्यालयलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पावरपोइन्ट प्रस्तुतिकरण प्रतियोगिताका विजयी छात्रा दक्षिणा बराल आगामी नोभेम्बर महिनामा दुबईमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि समेत छानीएको विद्यालयले जनाएको छ । यसै गरी कार्यक्रमको अर्को विधा जिटिटिपि ट्राभल फोटो कन्टेस्टमा कक्षा १२ मा अध्ययनरत छात्रा मेनुका वि.क.ले प्रथम पुरस्कारका रुपमा अमेरिकी डलर १०० सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । उनले खिचेको फोटो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि समेत छनौट भएको छ ।
रसियन कल्चर सेन्टर, काठमाडौमा संचालित उक्त सम्मेलनमा प्रमुख अतिथि पुर्व पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले समृद्धीको आधार पर्यटन हुन सक्ने वताएका थिए । कार्यक्रममा पर्यटन बोर्डका निर्देशक मणिराम लामिछानेले पर्यटन सचेतना र पर्यटनको महत्वका बारेमा प्रकाश पारेका थिए त्यसैगरि टिआरटिआईका अध्यक्ष मदन कुमार बरालले पर्यटन क्लबको महत्वको विषयमा चर्चा गर्दै गत वर्ष टुरिजम बोर्ड, यु.एन.डि.पि र एस.टि.एल.आर.पि. को सहयोगमा देशभरमा १८ वटा टुरिजम क्लब गठन गरिएको र यो वर्ष १०० वटा नेशनल सस्टेनेवल टुरिजम क्लबको गठन गरिरहेको जानकारी गराएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।