पोखरा असोज २६,
पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो । शुक्रवार एक कार्यक्रमका बिच एनआरएनएको तर्फबाट महानगरपालिकालाई नव निर्मित शैचालय हस्तान्तरण गरिएको छ ।
सो क्रममा प्रमुख आचार्यले व्यवस्थित सहर भित्र आवश्यक पूर्वाधार निर्माणका लागि संयुक्त प्रयासका रूपमा सार्वजनिक शौचालय निर्माण गरिएको वताए । पोखराको व्यस्त बजार महेन्द्रपूलमा निर्माण गरिएको अत्यावश्यक आधुनिक प्रविधि जडित सार्वजनिक शौचालयले सबैलाई राहत मिल्ने विश्वास व्यक्त गरे ।
पोखरा घुम्न आउने पर्यटक तथा नागरिकको सेवाका लागि सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी त्यहाँ रहेका अति जीर्ण भवनहरू विस्थापित गरी नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले सार्वजनिक शौचालय निर्माण गरिएको प्रमुख आचार्यले वताए । शौचालय दैनिक १८ घण्टासम्म सञ्चालन गरिने र यसबाट उत्पादन हुने बायोग्याँसको समेत पूर्ण रूपमा सदुपयोग गरिने प्रमुख आचार्यले वताए । शौचालय अगाडी वाटर फाउन्टेन सहितको सुन्दर पार्क र फल्चा निर्माण हुने वताईएको छ ।
सो अवसरमा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष तथा प्रजेक्ट संयोजक रविना थापाले पोखराको मुटु महेन्द्रपुलमा नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय निर्माणमा साझेदारी गर्न पाउँदा खुसी लागेको वताउदै यसले पोखरा आउने पर्यटकहरूलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता प्रदान गर्ने वताईन् । यो शैचालयलार्ई विदेशमा रहेका नेपालीहरूले दिएको एक चिनोका रूपमा लिन सकिने भन्दै थापाले भविष्यमा पनि पोखरा महानगरपालिका संग साझेदारी गर्ने चाहाना आफुहरुको रहेकोे वताईन् । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले महानगरमा हुनु पर्ने आधारभूत पूर्वाधारहरू सार्वजनिक शौचालय, पार्क, खुला स्थानहरू, चिल्ड्रेन पार्क लगायत निर्माणमा पोखरा महानगरपालिका प्रतिबद्ध रहेको वताए ।
शैचालयमा महिला पुरुष शौचालय, महिलाहरूका लागि सेनेटरी प्याडको भेन्डर मेसिन, स्तनपान कक्ष, सेन्सर सहितका बेसिन तथा धाराहरू जडान गरिएको छ । एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गरेको छ । शौचालय निर्माणका लागि एनआरएनएले रु६० लाख उपलब्ध गराएको छ पार्क निर्माणका लागि थप रु.२० लाख प्रदान गर्नेछ । बाँकी खर्चको व्यवस्थापन पोखरा महानगरपालिकाले बेहोन महानगरपालिकाले जनाएको छ । पोखरा महानगरपालिकाको अति व्यस्त वजार महेन्द्रपुलमा सार्वजनिक शैचालय नभएको गुनासोहरु आईरहेका वेला पोखरा महानगरपालिकामा धनराज आचार्य प्रमुखमा निर्वाचित भएर आएपछि सुविधा सम्पन्न शौचालय निर्माण भएको छ र अन्य ठाउमा पनि शौचालय निर्माण हुने भएपछि नगरवासीहरुले उक्त कामको प्रशंसा गरेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।