पोखरा पौष १९,
पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो ।
शुक्रवार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख धनराज आचार्यले वताए । प्रमुख आचार्यका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन गरी थप व्यवस्थित बनाउन यस्तो व्यवस्था गर्न लागिएको हो । यसले विद्यार्थीहरूलाई एसइई परीक्षाका लागि समेत मार्गदर्शन प्रदान गर्ने प्रमुख आचार्य वताउछन् ।

‘हालको परीक्षा सञ्चालन प्रणालीले विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा कुनै प्रकारको नयाँ अनुभूति मिल्ने अवस्था नरहेको, यो आफ्नै विद्यालयमा तल्लो तहका नियमित परीक्षाका रूपमा जस्तै सीमित रहेकाले कक्षा ८का विद्यार्थीहरुको निकट भविष्यमा हुने विद्यालय तहको निकै महत्त्वपूर्ण मानिने एसइई परीक्षाको पूर्व अभ्यासका रूपमा विकास गर्नका लागि परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गर्न लागिएको र यसो गर्दा विद्यार्थी मानसिक रूपमा पनि त्यसका तयार हुने प्रमुख आचार्यले वताए । यो एसइई परीक्षाको पूर्व अभ्यासका रूपमा समेत महत्त्वपूर्ण हुने नगर प्रमुख आचार्यले वताए ।

यसले अन्तर विद्यालय विद्यार्थी घुलमिल, नयाँ साथीहरूसँग उनीहरूको भेटघाट, नवीन वातावरणमा सामञ्जस्ययता, आफ्नो विद्यालय र अन्य विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको अनुभूति लगायतमा विद्यार्थीहरूलाई नयाँ सिकाइ प्रदान गर्ने विश्वास गरिएको महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले वताए । महानगरपालिकाले विद्यार्थीहरूको सिकाइ प्रवद्र्धनका लागि विभिन्न किसिमका रचनात्मक उपायहरू अवलम्बन गर्दै आइरहेको र सोही अनुसार आधारभूत तहको परीक्षा प्रणालीमा सुधार सहित यसलाई समयानुकूल बनाउन लागिएको आचार्यले वताए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।