पोखरा ,माघ ११,
पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला , आइटी महोत्सव २०८१ सुरु भएको छ । पोखरा महानगरपालिका वडा नं ९ स्थित पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गरिएको मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक कार्यक्रमका विच विहिवार उद्धघाटन गरे । उद्धघाटनका अवसरमा मन्तव्य ब्यक्त मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा दुईवटा क्षेत्रमा औद्योगिक क्षेत्र खोल्ने भनिए पनि जग्गा प्राप्ति समयमै नहुँदा काम रोकिएको भएपनि हाल आएर काम अगाडि बढेको जानकारी गराए । निजी क्षेत्रसँगको सहकार्य बिना समृद्धि प्राप्त नहुने भन्दै मुख्यमन्त्री पाण्डेले सरकार र निजी क्षेत्र मिलेर मुलुकको विकास र संमृद्धिमा लाग्नुपर्ने वताए । मुख्यमन्त्रीले मेला र महोत्सवले आर्थिक गतिविधिलाई चलायमान गराउने भन्दै मेलाका नाममा स्थानिय जनताको पैसा वाहिर . जानु स्थानीयको लागि न्यायोचित नहुने वताए ।
व्यापार मेला भनेपछि स्थानीय उत्पादनको प्रदर्शन हुनुपर्छ ,प्रवर्धन हुनुपर्दछ । हाम्रा उत्पादन देखाउने, यहाँको संस्कृति देखाउने र पर्यटन प्रवद्र्धन गर्ने काम मेलाका अवसरमा गरिनुपर्नेमा मुख्यमन्त्रीले जोड दिए । उद्धघाटनका अवसरमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि प्रदेश सरकार प्रयत्नसिल रहेको बताए । उनले पुँडीटारमा निर्माणाधीन औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको पनि जानकारी गराए । कार्यक्रममा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले सूचना प्रविधिले संसारलाई साँघुरो बनाएको अवस्थामा मेला र महोत्सवले व्यवसाय प्रवद्र्धन गर्ने वताउदै यस्ता खालका मेला महोत्सवले पोखराको पर्यटन लगायत सवै क्षेत्रको आर्थिक विकासमा टेवा पु¥यउने वताए ।
कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र पोखराको व्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले मेला आयोजना गरेको बताए ।
कार्यक्रममा जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनकुमार शर्मा, क्यान नेपालका अध्यक्ष सुनयना पाण्ड,पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य , महासचिव शोभा गौतम लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमका अवसरमा मधेश प्रदेशको तर्फबाट त्यहाँको सांस्कृतिक टोलीले मिथिला र थारु संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए । पोखरा आद्योगिक क्षेत्र उद्योग संघ, क्यान कास्की, नेपाल मोवाइल बितरक संघ एवं सिएसआइटी फाउण्डेन ससँगको सहकार्यमा पोउवा संघले मेला आयोजना गरेको हो ।