पोखरा फागुन २०,
कास्की जिल्लामा मोटरसाईकलमा स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने र सर्व साधारणलाई हैरानी गर्ने तथा दुर्घट्नाको जोखिम समेत वढाउने मोटरसाईकलहरुलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गर्दै आएको छ । यसै क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा २०८० साल भदौ ५ गते देखि फागुन २० गतेसम्म ६८१ वटा स्वरुप परिवर्तन गरि चलाउने मोटरसाईकललाई नियन्त्रणमा लिई कारबाही गरिएको कास्की प्रहरीले आईतवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । त्यस्ता सवारी साधनहरुवाट प्रहरीले रू.७ लाख ४२ हजार ७००।– संकलन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सुर्यवहादुर रानाले जानकारी दिए ।
समाजमा होहल्ला गर्दै मोटरसाईकल पड्काउदै हिड्ने तथा ध्वनी प्रदुषण गर्ने कार्य बढिरहेको भन्ने अत्याधिक जनगुनासो प्राप्त हुन आएको भन्दै प्रहरीले फागुन १७ गते देखि फागुन २० गतेसम्म कडाईका रुपमा चेकजाँच गरेको र यसै क्रममा (मोडईफाई) गरिएका ५९ वटा मोटरसाईकलहरु नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको सो अवसरमा जानकारी दिईयो । स्वरूप परिवर्तन गरिएका मोटरसाईकलहरू मध्ये पटके कारबाहीमा परेकाहरूलाई आवश्यक कारबाहीको लागी यातायात कार्यालय कास्कीमा पठाउने तथा पहिलो पटकमा परेकाहरूलाई मोडीफाई गरिएका सामानहरू फेर्न लगाई पहिलेको जस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिबाना गरी अभिभावकको जिम्मा लगाई छाडिने प्रहरीले जनाएको छ । साथै उक्त कार्य गर्ने गराउने वर्कसप समेतको निगरानी गर्ने, पहिचान गर्ने र उक्त वर्कसप संचालकहरू समेतलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाईने समेत प्रहरीले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन गर्न, पार्टपुर्जा थप्न वा घटाउन रंग परिवर्तन गर्न नपाईने व्यवस्था रहेको छ ।