पोखरा, असोज २४,
नेपालका लागि जापानी राजदूत किकुता युताका र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच मंगलवार भेटवार्ता भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षिय मित्रवत् सम्बन्ध, सहयोग तथा साझेदारी लगायतका विषयहरुमा छलफल भएको छ । छलफलका क्रममा प्रमुख आचार्यले राजदूत किकुताको पोखरा भ्रमण दुई देशहरु जापान र नेपालबिचको चिरस्थायी मित्रताको लागि महत्वपूर्ण भएकोे वताए ।
पोखरा लगायत समग्र नेपालको विकास यात्रामा जापान एक प्रमुख साझेदारका रूपमा रहँदै आएको र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा आफूले जापानको भ्रमण गरेको स्मरण गराउँदै प्रमुख आचार्यले त्यस बखत पोखराको व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको लागि गुरुयोजना निर्माण गर्ने सहकार्य गरिएको वताए । जापानले जाइका मार्फत सम्पन्न हुने क्रममा रहेको खानेपानी आयोजना लगायत पोखरामा सञ्चालित महत्वपूर्ण विकास परियोजनाहरूमा दृढ र समर्पित साझेदारको भूमिका निर्वाह गर्दै आएको प्रमुख आचार्यले भेटका अवसरमा वताए ।
“जापानको कोमागाने सहरसँग सन् २००१ देखि नै पोखराको भगिनी सम्बन्ध छ, यस सम्बन्धले दुई शहरलाई मात्र नभई दुई देशहरू बिचमा स्थायी रूपमै सांस्कृतिक आदानप्रदान, सहकार्य र जनस्तरको सम्बन्धलाई सुदृढ बनाइरहेको भन्दै प्रमुख आचार्यले जापानले निरन्तर रूपमा पोखराको सामाजिक, आर्थिक र सांस्कृतिक प्रगतिमा आफ्नो प्रतिबद्धता व्यवहारिक रूप मै देखाएको वताए । पोखरा र जापानका विभिन्न सहरहरू बिच नियमित अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण तयार गर्न राजदूत किकुता मार्फत जापान सरकार समक्ष प्रमुख आचार्यले अनुरोध गरेका थिए ।
सो अवसरमा राजदूत किकुताले जापान सरकारको कार्यान्वयन इकाइका रूपमा जाइका मार्फत सञ्चालित परियोजनाहरूको गुणस्तर र प्रतिफल पोखरेली जनताको जीवनसँग जोडिने विषय भएकाले यसमा कुनै प्रकारको कमजोरी हुन नदिने वताए । पानी ट्याङ्कीको समस्या पोखरा महानगरपालिकाको मात्र नभई राजदूतावास, जाइका र नेपाल सरकारको समस्या भएको वताउदै यो साझा समस्याको समाधानका लागि सबै सरोकारवालाहरू बिच छलफल तथा समन्वय गर्नुपर्ने राजदूत किकुताले वताए । पोखरालाई जापानका सहरहरूसँग हवाई सेवाले जोड्ने विषयमा जापान सरकारसँग आवश्यक समन्वय गर्ने विश्वास राजदूत किकुताले दिलाए । पोखराको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा साझेदारी गर्न जापान सरकार सदैव सकारात्मक रहेको सो अवसरमा राजदूत किकुताले सुनाएका थिए ।
राजदूत किकुता जापान सरकारको तर्फबाट मातृशिशु मितेरी अस्पतालका लागि स्वास्थ्य उपकरणहरू लिएर पोखरा आएको वताईन्छ ।