पोखरा महानगरपालिकामा शहरी योजना आयोगको गठन गरिएको छ । महानगरपालिकाले गठन गरेको शहरी योजना आयोगको उपाध्यक्षमा पूर्व प्रशासक प्रेमलाल लामिछाने नियुक्त भएका छन् । त्यसै गरि सदस्यहरुमा जय प्रसाद सापकोटा, सुरेन्द्रबाबु तिवारी, मन्दिरा पराजुली र होमनाथ गैरे रहेका छन् ।
यसै विच बुधवार शहरी योजना आयोग पोखराका उपाध्यक्ष सहित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आयोगका उपाध्यक्ष प्रेमलाल लामिछाने सहित सदस्यहरु जय प्रसाद सापकोटा, सुरेन्द्रबाबु तिवारी, मन्दिरा पराजुली र होमनाथ गैरेलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ ग्रहण पछि आयोगका उपाध्यक्ष लामिछानेले पोखराको समग्र विकासका लागि आफ्नो सीप, क्षमता, दक्षता र अनुभवको अधिकतम उपयोग गर्ने वताए । पोखराको आर्थिक, भौतिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र मानव संसाधन लगायत समग्र विषयहरूको समुचित विकासका लागि उपयुक्त योजना निर्माणका लागि आयोगले प्रतिविद्धताका साथ काम गर्ने लामिछानेने विश्वास दिलाएका छन् ।
सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ’समुन्नत पोखरा’ निर्माण गर्ने लक्ष्यका साथ यसअघि थालिएका असल अभ्यासहरूलाई अनुसरण गर्दै “समुन्नत पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार” भन्ने नारालाई सार्थकता प्रदान गर्ने कार्यमा आयोगको भूमिका महत्त्वपूर्ण हुने वताए ।
पोखरा महानगरपालिका भित्रको भूगोलको समावेशी विकासका लागि उपयुक्त खाका कोर्ने कार्यमा आयोग क्रियाशील रहने प्रमुख आचार्यको विश्वास रहेको छ । आयोगको कार्यालय साबिकको लेखनाथ नगरपालिका कार्यालय रहेको भवन रहने महानगरपालिकाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।