पोखरा चैत्र १५,
पोखरा महानगरपालिका वडा नं १२ ले वडामा प्लाष्टिकजन्य फोहरलाई न्यूनीकरण गर्ने, र वडालाई प्लाष्टिक रहित वडा वनाउने अभियान थालेको छ । यसका लागि वडा नं १२ले ऊर्जा तथा वातावरण केन्द्र नेपाल (सीईईएन) संग संझौता गरेको छ । वडा स्तरमा प्लास्टिक जन्य फोहर न्यूनीकरणको मोडेल विकासका लागि ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीईएफ) मार्फत युएनडिपी नेपालको आर्थिक सहयोग तथा कार्यान्वयनको रूपमा सीईईएनले यस परियोजनाको नेतृत्व गर्ने वताईएको छ । ब्लु वेस्ट टु भ्यालु प्रा.लि (बीडब्लुटुभी) र ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रा.लि (जीआरडब्लुएम) ले यस परियोजनाका लागि सीईईएनको प्राविधिक साझेदारका रूपमा काम गर्नेछन् ।
संझौताका अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजनाले प्लास्टिकको प्रयोगलाई न्यूनीकरण गर्दै वडाको शून्य प्लास्टिक फोहोर व्यवस्थापनमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । प्लास्टिक नै वातावरणीय प्रदुषणको मुख्य कारक बनेको भन्दै प्रमुख आचार्यले सहरको स्वच्छता प्रवर्द्धनका लागि प्लास्टिक प्रयोग गर्ने बानीलाई त्याग्नु पर्ने वताए । प्लास्टिकको स्रोत मै फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा बेलाबखतमा सहरका सडकहरू दुर्गन्धित हुने गरेको बताउँदै प्रमुख आचार्यले सकेसम्म फोहोरको उत्पादन कम गर्न र उत्पादित फोहोरको उचित व्यवस्थापन गर्न सुझाव समेत दिएका थिए । महानगरपालिकालाई सुन्दर बनाउने आम नगरवासीको समेत दायित्व हुने भन्दै प्रमुख आचार्यले पर्यटकीय नगरीमा मानवीय सभ्यताको प्रतिकुल हुने गरि वातावरण प्रतिको निर्ममता स्वभनिय नहुने स्मरण गराएका थिए ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नं.१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले वडाको विकास, स्वच्छता र नागरिक सेवाको सुधारका लागि आफू प्रतिबद्ध रहेको वताए । दातृसंस्थाहरूको सहयोगमा वडामा सञ्चालन गर्न लागिएको यस परियोजनालाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न अध्यक्ष वास्तोलाले अपिल समेत गरेका थिए ।
प्लास्टिक रोकथामका लागि कार्य योजना बनाउने, प्रयोगबाट प्राप्त निष्कर्षका आधारमा विभिन्न प्रकारका प्लास्टिकजन्य फोहरको न्यूनीकरण, पुनः प्रयोग, पुनः प्रयोग र विसर्जन तथा सरोकारवाला निकायहरू नगरपालिका, वडा र सम्बन्धित संस्थासँग सहकार्य गरी वडाद्वारा उत्पादित प्लास्टिकजन्य फोहरको उचित व्यवस्थापन गर्ने नीति अवलम्बन गरिने सम्झौतामा उल्लेख छ । यसमा प्लास्टिकजन्य फोहर न्यूनीकरण सम्बन्धी पुस्तिका तथा अन्य सम्बन्धित सचेतनामूलक सामग्री वितरण पनि गरिनेछ । सम्झौता अनुसार बहुउद्देश्यीय स्रोत पुनप्र्राप्ति केन्द्रको स्थापना, फोहर मैला व्यवस्थापन मोडेलको प्रदर्शन, सानो सभा हल र नमुना ड्रप–अफ केन्द्र पनि सञ्चालन गरिनेछ । परियोजना अन्तरगत ठोस फोहर मैला व्यवस्थापनको वर्तमान परिदृश्य, प्लास्टिकको प्रयोग र प्रयोग हुने प्लास्टिकका वस्तु लगायत प्लास्टिक प्रति मानिसको धारणा सम्बन्धमा प्रारम्भिक तथ्याङ्क सङ्कलन, समुदायमा आधारित शून्य प्लास्टिक फोहोर व्यवस्थापन प्रणालीको विकास र कार्यान्वयन, प्लास्टिक प्रयोग न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन तथा अन्य वातावरण अनुकूल स्थानीय सामग्रीहरूको प्रवर्द्धन सहित प्लास्टिकजन्य सामग्रीहरू प्रतिस्थापन गर्ने रणनिती अनुसार काम गरिने वताईएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।