पोखरा, जेष्ठ ३०,
विश्व रामसार सूचीमा सूचीकृत फेवातालको सिमसार क्षेत्र पुरेर बनाइएका २७० बढी प्लटिङ पोखरा महानगरपालिकाले डोजर लगाएर भत्काइदिएको छ । पोखरा २४ पामेक्षेत्रको करिब ९० रोपनी क्षेत्रफल सिमसार पुरेर अनधिकृत रूपमा ती प्लटिङहरू निर्माण गरिएका थिए । मङ्गलवार महानगरपालिकाले सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरीको सहयोगमा दुई वटा जेसीबी प्रयोग गरी प्लटिङ भत्काइदिएको हो । साथै सो क्षेत्रमा निर्माणका कुनै पनि गतिविधिहरू नगर्न र यसअघि निर्माण गरिएका अस्थायी टहराहरू तत्काल हटाउन महानगरपालिकाले निर्देशन दिएको छ ।
फेवातालको दलदले क्षेत्र पुरेर धमाधम प्लटिङ गर्न थालेपछि महानगरपालिकाले पटक पटक सिमसार क्षेत्रमा त्यस प्रकृतिको कार्य नगर्न गरेको अनुरोधलाई अटेर गरी माटो फिलिङ गरी घडेरी छुट्ट्याउन डीपीसी निर्माण गरेपछि त्यसलाई महानगरपालिकाले भत्काइदिएको हो ।
सिमसार पुर्ने अनधिकृत कार्यमा संलग्न व्यवसायी युवराज खतिवडाका १ दर्जन बढी टिप्पर र जेसिबीका चाबीहरू अहिले पनि महानगरपालिकाको नियन्त्रणमा रहेको महानगरपालिका श्रोतले जनाएको छ । वनको भाग कटान गरी सिमसार पुर्ने कार्यमा प्रयोग गरिएको एउटा जेसिवी र टिप्पर समेत महानगरपालिकाको नियन्त्रणमा छ । उनले त्यस क्षेत्रका स्थानीयहरूलाई उक्साएर सिमसार क्षेत्र पुर्ने कार्यमा प्रेरित गर्दै आएको महानगरको दावी छ ।
विश्व रामसार सूचिमा सूचिकृत फेवातालको माथिल्लो क्षेत्र वा फेवा फाँट फेवातालको आयुसँग प्रत्यक्ष जोडिएको क्षेत्र पनि हो । सिमसार क्षेत्रमा कुनै प्रकारको गतिविधि नगर्न अदालतले अन्तरिम आदेश दिँदा पनि केही स्वार्थ समूहहरूले यसमाथि निरन्तर प्रहार गरिरहेको महानगरपालिकाका प्रमुख धनराज आचार्य वताउछन् । पछिल्लो पटक गरिएको भू–वर्गीकरणमा सो क्षेत्रलाई कृषि र अन्य भनी वर्गीकरण गरिएको भए पनि, अन्य अन्तरगतका ९ वटा क्लस्टरहरु विभाजन भने बाँकी नै रहेको छ ।
फेवातालको संरक्षणका लागि सिमसार क्षेत्रमा हुने कुनै पनि प्रकारका अस्वाभाविक गतिविधिहरूलाई निस्तेज पार्ने स्थानीय सरकारको दायित्व प्रति आफूहरू सचेत रहेको महानगरपालिकाका प्रमुख आचार्यले वताए । पटक पटकको आग्रहलाई अटेर गरेपछि डोजर चलाउन बाध्य हुनुपरेको आचार्यले वताए । महानगरपालिकको पटकपटकको आग्रह, उच्च अदालत पोखराको आदेश समेतलार्ई अटेर गर्र्दै नयाँ नयाँ वाहाना र कारणहरु खोज्दै ब्यवसायी युवराज खतिवडा लगायतले फेवातालको मुहान पामे स्थित सिमसार पुर्ने र त्यसलाई ब्यक्तिगत प्रयोग गर्ने कामको पोख्रेलीहरुले तिव्र विरोध गर्दै उनिहरुमाथि कारवाहीको माग गरेका छन् । यसै क्रममा पोखरा महानगरपालिकाले मंगलवार डोजर लगाएर प्लटिङको स्टाईमा निर्माण गरिएका डिपिसी भत्काईदिएपछि पोखरा महानगरपालिकको जनस्तरवाट प्रसंशा भएको छ ।