पोखरा वैशाख ३०,
हरेक वर्ष जस्तै यस वर्ष पनि पोखराको फेवातालमा जलकुम्भी सफाई गर्न थालिएको छ । पर्यटकीय राजधानी पोखराको महत्वपूर्ण सम्पदाको रुपमा रहेको फेवाताल जलकुम्भी झारको कारण कुरुप देखिने गर्दछ । मुलुकका बिभिन्न ठाँउवाट मात्रै नभई फेवातालको सुन्दरता हेर्नका लागि धेरै मुलुकवाट वाह्य पर्यटकहरु आउने भएकाले फेवाताललाई सधै भरी सुन्दर राख्नुपर्दछ । फेवातालको जलकुम्भी झार निकाल्ने, फेवातालको किनारमा फालिएका फोहरहरु सवै सफा गर्ने तथा फेवातालमा मिसिने ढल तथा फोहर पानीलार्ई नियन्त्रण गर्नुपर्ने कार्यलाई तालिका वनाएर नियमित गर्नुपर्ने ठाँउमा पोखरा महानगरपालिकाले त्यसो गरेको पाईदैन । वर्षमा एक दुईचोटी अभियानको रुपमा मात्रै जलकुम्भि झार निकाल्ने अरु वेला त्यतातिर हेर्दै नहेर्ने गरेका कारण फेवाताललाई जलकुम्भि झारले ढाक्ने र समस्याको रुपमा देखिने गर्दछ । पोखरा महानगरपालिकाले फेवतालमा जलकुम्भि झार निकाल्ने मेसिन ल्याएपनि उक्त मेसिन त्यति प्रयोगमा आएको देखिदैन ।
यसै विच वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा आईतवार देखि फेवातालमा जलकुम्भि सरसफाई अभियान सुरु गरिएको छ । पोखरा–१८ खपौदी वाट जलकुम्भी सफाइ अभियान आईतवार विहान देखि सुरु भएको नागरिक समाज पोखराका संस्थापक अध्यक्ष तथा अभियानका अभियान्ता राम वहादुर पौडेलले जानकारी दिए । जलकुम्भी सफाई अभियानका संयोजक राम बहादुर पौडेलको अध्यक्षता र सशस्त्र प्रहरी बल नं.२४ कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पोखरा महानगरका वडा नं.६ र १८ का वडाध्यक्ष सहित जनप्रतिनिधिहरु,रेवान तगायत पर्यटन व्यवसायी, विभिन्न संघसंस्था ,आमा समुह , जलहारी समुदाय, पर्यटन ब्यावासायीहरु, सशस्त्र प्रहरी, नेपाली सेना, पोखरा महानगरको महानगरी प्रहरी लगायत स्थानीयवासीको सहभागिता रहेको थियो । उक्त कार्यक्रम पोखरा महानगरपालिकाको समन्वयमा भएको थियो । सोमवार देखि भने जलारी समुदायले ज्याला सहित जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता दिने पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।