पोखरा फाल्गुण १९,
बालोदय मा वि, पोखरामा गठित विद्यार्थीहरुको क्लब ३ वि (बालोदय बर्थ डे वैक)क्लबको आयोजना एवम् संचालनमा फागुन १७ गते शनिवार स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका वडा नम्बर– ५ अवस्थित बाँस्कोट आधारभुत विद्यालयका ४० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई स्कुल ब्याग, कापी, कलम लगायतका शैक्षिक सामग्रीहरू हस्तान्तरण तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । वडाध्यक्ष कृष्णप्रसाद पनेरुको प्रमुख आतिथ्यता तथा वडा सदस्य पूर्णबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलापति तिमिल्सिना, प्रधानाध्यापक निलकण्ठ शर्मा,सहायक प्रधानाध्यापक सावित्री ढकाल, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरु,शिक्षकहरु लगायत सो विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको विद्यालयका संस्थापक एवम् सूचना प्रविधि प्रमुख रघु ज्ञवालीले जानकारी दिए । सो अवसरमा वोल्दै वडाध्यक्ष पनेरुले बालोदय मा.वि.ले गरेको कार्य अत्यन्तै सराहनीय रहेको अन्य विद्यालयहरूले पनि यसको अनुकरण गर्नुपर्ने वताए । वि.व्य.स. अध्यक्ष क्षेत्रीले विपन्न विद्यार्थीहरूको बाहुल्यता रहेको विद्यालयमा सहयोग गरिएकोमा बालोदय मा.वि.लाई धन्यवाद दिदैं यसले विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई थप उर्जा मिल्ने वताए ।
कार्यक्रममा विद्यालका संस्थापक एवम् सूचनाप्रविधि प्रमुख रघु ज्ञवालीले ३ वि क्लबको परिचय सहित कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए भने विद्यालयका संस्थापक एवम् क्लब संयोजक गुप्तबहादुर क्षेत्रीले हाजिरीजवाफ प्रतियोगिताको सहजिकरण गरेका थिए ।
बालोदय मा.वि. का विद्यार्थी तथा शिक्षकहरूद्वारा आफ्नो जन्मदिवसको अवसरमा सहयोग गरिएको रकम संकलन गरी ३ वि क्लबको व्यवस्थापनमा क्लबका अध्यक्ष एवम् पदाधिकारीहरू लगायत सहयोग गर्ने शिक्षक विद्यार्थीहरुको प्रतिनिधित्वमा सो सहयोग कार्यक्रम तथा हाजिरी जवाफ प्रतियोगिता संचानल गरिएको कार्यक्रमका संयोजक तथा विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख इश्वर ढकालले जानकारी दिए । क्लबका शिक्षक प्रतिनिधि पदमा अर्यालले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष विद्यार्थी दिप्सन ढकालले गरेका थिए ।