पोखरा, चैत्र १७,
आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ का लागि २६ वटा राजनीतिक दल दर्ता भएका छन् ।
नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ को उपनियम (१) सँग सम्बन्धित अनुसूची–१२ बमोजिम निवेदन पेश हुन आएका राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ ।
तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि आयोगले उपनिर्वाचनको मिति घोषणा गरेको थियो । यसै गरि नागरिकता सम्वन्धि विवादमा सांसद पद गएका रवि लामिछाने निर्वाचित भएको चितवन २मा पनि वैशाख १० गते नै निर्वाचन हुदैछ । उक्त निर्वाचन क्षेत्रमा १८ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन् ।
यसै विच आगामी वैशाख १० गते आइतबारका दिन हुने उपनिर्वाचनमा तनहू निर्वाचन क्षेत्र नं १मा १लाख २३ हजार ३०५, , वारा जिल्ला निर्वाचन क्षेत्र नं २मा १लाख ५हजार २४८ र चितवन जिल्ला निर्वाचन क्षेत्र नं २मा १२४ हजार ६९५ मतदाता रहेको आयोगका प्रबक्ता शालिग्रम शर्मा पौड्यालले वताएका छन् । निर्वाचन आयोगले चैत १६गते अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरिएको जनाएको छ ।