पोखरा पौष २९,
कपडा व्यवसायी एसोसिएसन कास्कीको २२ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले गरेका थिए । सो अवसरमा वोल्दै प्रजापतिले व्यवसायीहरू बैङ्क तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर र अत्यधिक कर वृद्धि लगायतका समस्याहरूले पीडित बनेको वताए । यी समस्याहरू सम्बोधनका लागि व्यवसायीहरूको छाता संस्थाका हैसियतले पोखरा उद्योग वाणिज्य संघले सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर छलफल र संवाद गरिरहेको समेत प्रजापतिले वताए । राज्यलाई ठुलो मात्रामा कर तिरेर वैधानिक व्यवसाय गरिरहेका व्यवसायीहरूको पक्षमा राज्य उदासीन देखिएको कारण कतिपय व्यवसायीहरु विस्थापित हुने अवस्थामा रहेको उनले वताए ।।
कपडा व्यवसायी एसोसिएसनका पूर्व अध्यक्ष एवं सल्लाहकार जनकराज पराजुलीले व्यवसायीहरूको समस्या सम्बोधनका लागि पोखरा उद्योग वाणिज्य संघ विशेष पहल गर्नुपर्ने वताए । विभिन्न कारणले समस्यामा परेका व्यवसायीहरूलाई संरक्षण गर्ने दायित्व पोखरा उद्योग वाणिज्य संघको भएको उल्लेख गर्दै उहाँले यसलाई गम्भिरतापुर्वक लिन आग्रह गरेका थिए । पोखरा चेम्बर अफ कमर्सका कोषाध्यक्ष गोकर्ण अधिकारीले व्यवसायीहरूका समस्याहरूको समाधानका लागि आफूहरू हातेमालो गर्न तयार रहेको वताए ।
एसोसिएसनका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अधिकृत विक्रेता संघ कास्कीका अध्यक्ष मनोज श्रेष्ठ,संस्थाका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रमका संयोजक लेखनाथ पौडेल लगायतले मन्तव्य ब्यक्त गरेका थिए । सो अवसरमा २०५ वर्ष अघि व्यवसायी मेहरमान पालिखेको पालादेखि निरन्तर सञ्चालनमा रहेको इरसन बस्त्रालयका सञ्चालक ईश्वर कुमार पालिखेलाई सम्मान समेत गरिएको थियो । संस्थाका सदस्य बाबुराम पौडेललाई सक्रिय सदस्य सम्मान प्रदान गरियो । सो अवसरमा उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेका संस्थामा आबद्ध व्यवसायीहरूका छोराछोरीहरूलाई नगद र सम्मान पत्रले सम्मान गरिएको थियो ।
साधारण सभाले संस्थामा सम्पूर्ण सदस्यहरूलाई सदस्यता कार्ड वितरण गर्ने, संस्थाको सचिवालय स्थापनाका लागि कोष खडा गर्ने, नियमित सम्मानका कार्यक्रमहरूलाई निरन्तरता दिने, व्यवसाय प्रवद्र्धनका लागि सिप विकास, अध्ययन अवलोकन भ्रमण, छात्रवृत्ति संख्या थप गर्ने, दैविक प्रकोप कोष गठन गर्ने, विपत्तिमा परेका व्यवसायीहरूको क्षतिको मूल्याङ्कन गरी अधिकतम रु.२५ हजार सम्म सहयोग गर्ने, विशेष मापदण्ड बनाई सदस्यता वितरणलाई प्रभाकारी बनाउने, सम्भाव्य संयुक्त उद्यम विकास गर्ने, ३=३ महिनामा सदस्यहरूका बिचमा विस्तारित बैठक बस्ने, कपडा व्यवसायी महासंघ गठनका लागि पहल गर्ने, भाडा ढुवानीमा एकरूपता कायम गर्न सम्बन्धित सरोकारवालासँग आवश्यक समन्वय गर्ने लगायतका प्रस्तावहरू पास गरेको छ । यस्तै महासचिव र कोषाध्यक्षको प्रतिवेदन समेत सर्वसम्मतिले पास भएको छ ।