पोखरा आषाढ १०,
पोखरा महानगरपालिकाको १५ औ नगर सभाले पोखरा महानगरपालिकाको नगर कार्यपालिकाले गरेको पोखराको मणिपाल शिक्षण अस्पताललाई दिने कर छुटको निर्णय वदर गरेको छ । आईतवार पोखरा सभागृहमा आयोजित १५ औ नगर सभाले २०७९ चैत्र १० गतेको महानगरको १६ औं कार्यपालकिा बैठकले गरेको निर्णय खारेज गरेको हो ।
उक्त वैठकले प्राविधिक समितिले दिएको प्रतिवेदनको आधारमा भन्दै मणिपाल शिक्षण अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ राजस्व लिएर भवन सम्पन्नताको सम्पन्न प्रमाणपत्र दिने निर्णय गरेको थियो । महालेखा परीक्षकको कार्यालयले हालै प्रकाशन गरेको अघिल्लो वर्षको प्रतिवेदनमा १९ करोड रुपैयाँ राजस्व लिनुपर्ने औंल्याएको छ । २० करोड ७५ लाख रुपया राजश्व लिनुपर्ने ठाँउमा नगर कार्यापालिकको वैठकले १९ करोड छुट गरेर जम्मा १ करोड ७५ लाख मात्रै लिने निर्णय गरेपछि महालेखा परिक्षकको कार्यालयले वेरुजु देखाएको थियो यसको चौतर्फी रुपमा विरोध भएपछि महानगरपालिकाको नगर सभाले सो निर्णय खारेज गरेको हो । सो निर्णय खारेजीका लागि प्रमुख धनराज आचार्यले प्रस्ताव गरेका थिए ।
सो निर्णय खारेजी संगै मणिपाल शिक्षण अस्पतालबाट पोखरा महानगरपालिकाले प्राप्त गर्नुपर्ने राजस्वको विषयमा छानविन गर्न महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ । सो समितिको सदस्यहरुमा वित्त महाशाखा प्रमुख जयराम पौडेल, डा. होमनाथ गैरे, अधिवक्ता शुकदेव गौतम, वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेल, वडा सदस्यहरु शिवराम भण्डारी र रामजी पौडेल छन् रहेका छन् ।