पोखरा मंसीर ७
निर्वाचन आयोगले रिक्त राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते सम्पन्न गर्ने गरि मिति तोक्न सरकार संग प्रस्ताव गरेको छ । आज आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर माघ ११ गते निर्वाचन गर्न सुझाएको आयोगका प्रबक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । भेटमा प्रधानमन्त्री प्रचण्डले आयोगले भनेकै मितिमा निर्वाचन गर्ने निर्णय मन्त्री परिषदवाट गराउने जानकारी गराएको पौडेलद्धारा जारी बिज्ञप्तीमा जनाईएको छ ।
राष्टिय सभाका २० जना सदस्यहरुको पदावधि आगामी फागुन २० गते समाप्त हुदैछ । जसमा राष्ट्रपतिवाट मनोनित १ जना र अन्य १९ जना रहेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम उक्त मिति भन्दा पैंतीस दिन पहिले नै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको छ। उक्त ऐन बमोजिम निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोक्ने व्यवस्था रहेको छ ।
सो व्यवस्था बमोजिम कम्तीमा २०८० माघ १५ गतेसम्म रिक्त सदस्यको पद पूर्तिका लागि निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ । निर्वाचनको आवश्यक तयारी र निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने समय समेतलाई मध्यनजर गरी निर्वाचन मिति तोक्न उपयुक्त हुने देखिएकोले २०८० साल माघ महिनाको ११ गते बिहीबारका दिन निर्वाचन गर्ने गरी मिति तोक्न नेपाल सरकारलाई आयोगले अनुरोध गरेको प्रवक्ता शर्मा पौडेलले जानकारी दिए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको पनि पदावधि माघ २० गते समाप्त हुदैछ । राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानयि तहका प्रमुख र उप प्रमुख मतदाता हुने व्यवस्था छ ।