पोखरा फागुन ८,
पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेश्नलको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाले उक्त पार्क निर्माण गरेको हो । पार्कको फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रूपमा उद्घाटन गरे ।
उद्धघाटनका अवसरमा मन्तव्य ब्यक्त गर्दै प्रमुख आचार्यले अन्तर्राष्ट्रिय झन्डा पार्कले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने वताए । पर्यटन राजधानी घोषणा हुने क्रममा रहेको पोखरामा विश्वभरिबाट घुम्न आउने पर्यटकहरूको एक गन्तव्य स्थल झन्डा पार्क बन्ने आचार्यले वताए । झन्डा पार्क केवल रमाइलोका लागि मात्र नभएर लर्निङ सेन्टरका रूपमा पनि रहने भन्दै प्रमुख आचार्यले झण्डा पार्क आसपासको क्षेत्रलाई वाई फाई फ्री जोन बनाइएको वताए । सो अवसरमा लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बुर्लाकोटी, पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग, वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी ,पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा लगायतले मन्तव्य ब्यक्त गरेका थिए । पार्क निर्माणका लागि लायन्स क्लब अफ इन्टरनेश्नलका डिस्ट्रिक्टहरूले ७० लाख बढी आर्थिक सहयोग प्रदान गरेको वताईएको छ । संयुक्त राष्ट्र सङ्घको उद्देश्य अनुरूप विश्व शान्ति, एकता र भातृत्वको प्रवर्द्धनमा सघाउ पुराउने उद्देश्यले,यसका सदस्य राष्ट्रहरूको राष्ट्रिय झन्डा र सदस्यता प्राप्त मिति समेत उल्लेख गरी झन्डा पार्क निर्माण गरिएको छ ।
चार तहको प्यारा फिट शैलीमा निर्माण गरिएको पार्कमा संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९३ देशको नाम सहितका पोलहरूमा झन्डाहरू राखिएका छन् । पार्कको सबैभन्दा अगाडी नेपालको झन्डा राखिएको छ भने, एक स्थानमा पत्रपत्रिका अध्ययन केन्द्र र अर्को स्थानमा डिजिटल अध्ययन केन्द्र पनि स्थापना गरिएको छ । सात महादेशको भिन्न भिन्न ब्लकहरू छुटाइएको पार्कमा दोस्रो विश्वयुद्ध पछि विश्व शान्ति स्थापना र मानव अधिकार प्रवर्द्धनका लागि स्थापित संयुक्त राष्ट्र सङ्घमा आबद्ध देशहरूको आबद्धताको मिति समेत उल्लेख गरिएको छ । पार्कमा संयुक्त राष्ट्र सङ्घ, पोखरा महानगरपालिका, लायन्स क्लब अन्तर्राष्ट्रिय र एनआरएनएको झन्डा पनि राखिएको छ ।
अन्तराष्ट्रिय झण्डा पार्क वनाउन लायन्स ब्लव ईन्टरनेशनलले सयोग गरेको कारण लाईन्स क्लवको झण्डा र झण्डा पार्कको पारिपट्टी एनआरएनले शौचालय निर्माण गरेको कारण झण्डा पार्कमा एनआरएनको लोगो अंकीत झण्डा राखिएको छ । संयुक्त राष्ट्र सङ्घको उद्देश्य अनुरूप विश्व शान्ति, एकता र भातृत्वको प्रवर्द्धनमा सघाउ पुराउने उद्देश्यले,यसका सदस्य राष्ट्रहरूको राष्ट्रिय झन्डा र सदस्यता प्राप्त मिति उल्लेख गरेर बिभिन्न देशका भण्डाहरु राखिएको ठाँउमा लाईन्स क्लब र एन आरएनको झण्डा राखिएकोमा भने विरोध भएको छ । महेन्द्र पुलमा रहेको पुस्तकालयलाई विस्थापित गरि पोखराको अति व्यस्त ठाँउ महेन्द्रपुलमा भन्दा अलि खुल्ला र धेरै क्षेत्रफल भएको ठाँउमा झण्डा पार्क निर्माण गरिएको भए यसले पोखरा आउने पर्यटकहरुका लागि वसार्ई लम्व्याउने तथा महेन्द्र पुलमा हुने भिडभाड लगायतको समस्यामा कमी आउने मतहरु पनि आएका छन् ।