पोखरा ,श्रावण १७,
पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तरगत थप २ वटा परियोजनाहरू छनौट गरेको छ । वर्ल्ड बैङ्कको सहयोगमा सम्पन्न गर्ने गरी बिरौटा–पुडिँटार र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदिखोला–गगन गौडा सडक स्तरोन्नतिका लागि परियोजना छनौट गरेको हो । यही श्रावण १४ गते बसेको कार्यपालिका बैठकले सन २०२६ मार्च ५ भित्र सम्पन्न गर्ने गरी थप दुई वटा परियोजनाहरू छनौट गरिएको पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले वताए । परियोजनाहरुमा वर्ल्ड बैङ्कले २५.६८ मिलियन अमेरिकी डलर (३ अरब ३७ करोड ९३ लाख १० हजार ८०८ नेपाली रुपैयाँ) लगानी गर्नेछ । थपिएका परियोजनाहरुमा डेढ अर्व रुपया लागतमा बिरौटा देखि अन्तराष्ट्रिय पर्वतिय संग्रालय ,महतगौडा, दोविल्ला , भरतपोखरी हुँदै पुडिटार सम्म पुग्ने सडक र १ अर्व लागतमा लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदिखोला–गगन गौडा सडक स्तरोन्नति हुने वताईएको छ । विश्व बैककै सहयोगमा तालचोक–बेगनास सडक ७५ करोड, ४८ लाख ६७ हजार ८५३ रुपयाँमा संझौता भई काम अगाडि वढिसकेको छ । यी सडक नमूना सडक वन्ने र साढे २ वर्ष भित्रमा निर्माण सकिने गरि समयावधि तोकिएको समेत आचार्यले वताए ।