पोखरा जेष्ठ १९,
पोखरा महानगरपालिकाको नगर युवा परिषद्ले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि एक दिवसीय सचेतनामूलक कार्यक्रम गरेको छ । कार्यक्रममा सामाजिक सञ्जालको बढ्दो प्रभावका बिच यसको सदुपयोग र जीवनशैलीसँग जोड्ने कुरा महत्त्वपूर्ण रहेको र मानव जीवनको अपरिहार्य अवयव जस्तो बनिसकेको सामाजिक सञ्जालको प्रभाव दिनानुदिन बढ्दो अवस्थामा रहेकाले यसको सदुपयोगीता र सकारात्मक प्रभावका विषयमा चर्चा गर्न आवश्यक रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वताए । सामाजिक सञ्जालको दुरुपयोग हुँदा सिङ्गो समाजमा नकारात्मक प्रभाव र भ्रमहरू सृजना हुने भएकाले सचेत रहन आवश्यक रहेको समेत प्रमुख आचार्यले वताए ।
सामाजिक सञ्जाल नयाँ सिकाइ र नवप्रवर्तनका लागि पाठशाला भएको उल्लेख गर्दै प्रमुख आचार्यले यसलाई समयमा नै चिन्न र जान्न सके जीवनमा सकारात्मक ऊर्जा र सफलताहरू प्राप्त गर्न सकिने तर यसलाई सही रुपमा प्रयोग गर्न नजान्दा यसले निम्तिने समस्या डरलाग्दो भएको तर्फ युवहरु सचेत हुनुपर्ने प्रमुख आचार्यले वताए ।
सो अवसरमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले युवाहरूको मानसिकता र दृष्टिकोण निर्माणमा सामाजिक सञ्जालको महत्त्वपूर्ण भूमिका रहेको वताए । युवाहरूलाई इन्फरमेसन र डिसइन्फर्मेसनबाट बचाउन निकै चुनौतीपूर्ण रहेको बताउँदै यसको आवश्यक ज्ञान तथा जानकारीका लागि यस प्रकारको कार्यक्रम निकै प्रभावकारी हुने तिमिल्सिनाले वताए । कार्यक्रममा पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक वसन्तकुमार शर्मा र आइटीका जानकार विश्वराज पौडेलले सामाजिक सञ्जाल प्रयोगबारे युवाहरूसँग चर्चा र परिसंवाद गरेका थिए ।
सामाजिक सञ्जाल सञ्चालन, चुनौती र सम्भावनाबारे १५० युवालाई अभिमुखीकरण कार्यक्रम गरिएको परिषद्का उपाध्यक्ष सन्तोष न्यौपानेले वताए । सूचना प्रवाहमा सामाजिक सञ्जालको ठुलो योगदान भए पनि पछिल्लो समय भ्रामक खबरले बढी स्थान पाइरहेको अवस्थामा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे युवाहरूसँगै चर्चा परिचर्चा गरिएको उपाध्यक्ष न्यौपानेले वताए ।