पोखरा फागुन २८,

पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एन.जे.एस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरुयोजना तयार भएको हो ।

पोखरा महानगरपालिकाका चार वटा क्षेत्रहरूमा प्रशोधन केन्द्रहरू नै निर्माण गरी फोहोर पानी प्रशोधन मार्फत पुन प्रयोगका लागि योग्य बनाएर नदी तथा तालहरूमा छोडिने गुरुयोजनामा उल्लेख छ । महानगरको पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेमजा क्षेत्र र पूर्वी भागमा फोहोर पानी प्रशोधन केन्द्रहरू स्थापना गरिनेछन् । यी केन्द्रहरू मार्फत प्रतिदिन १ लाख ३४ हजार घन मिटर पानी प्रशोधन हुने वताईएको छ ।

गुरुयोजना अनुसार पानी प्रशोधन क्षेत्रका लागि पाइपलाइन योजना विकास र सबै प्रणालीहरूमा छुट्टाछुट्टै ढलहरू प्रयोग हुने र दुर्गम भूभागहरूमा पानी सङ्कलनका लागि विभिन्न स्थानहरूमा पम्प स्टेसन र म्यानहोल पम्प जडान गर्ने योजना रहेको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए । प्रमुख आचार्यले ११ अरब रुपैयाँ लागतको यो परियोजना अनुसार फोहोर पानीको प्रशोधन केन्द्र सञ्चालन गर्दा वातावरणीय स्वच्छता प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
दिगो विकासको लक्ष्य अनुसार सन २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसको लक्ष्य भेट्नलाई पनि यो परियोजना पोखराका लागि महत्त्वपूर्ण रहेको प्रमुख आचार्यले वताए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।