पोखरा असोज १५,
वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले यही साउन देखी हाल सम्म विभिन्न मुद्धामा अदालतको फैसलालाई अटेर गर्दै फरार रहेका १०६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेनदेन तथा बैंकिङ मुद्धाका ८५ जना,अभद्र व्यवहार मुद्धाका ४ जना, चोरी मुद्धाका ४ जना, लागूऔषध मुद्धाका ६ जना, वन मुद्धाका २ जना,बाल यौन तथा अपहरण मुद्धाका २ जना, हातहतियार मुद्धाका १ जना र घरेलु हिंसा मुद्धाका २ जना रहेका छन् । पक्राउ परेकाहरुबाट नगद रु ४१ लाख १२ हजार ४०५रुपैया जरिवाना र ९ वर्ष ९ महिना १५ दिन कैद भुक्तान गर्न बाँकि रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई मंगलवार अदालतमा पेस गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की मातहतमा रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाको कमाण्ड खटिएको प्रहरी टोलीले फरार अपराधी पक्राउमा सफलता प्राप्त गरेको हो । गण्डकी प्रदेश प्रहरीले यो आर्थिक वर्षमा हालसम्म प्रदेशका ११ ओटै जिल्लाबाट २५६ जना फरार प्रतिवादी पक्राउ गरिसकेको समेत जनाएको छ ।