पोखरा भाद्र ८,
पृथ्वीराजमार्ग बस संचालक कम्पनीले डिजिटल सेवालाई आत्मसात गर्दै बस सेवामा क्युआर कोड सुरु गरेको छ । टिकट काट्ने र काउन्टरमा पुगि लाइन बसेर नगद बुझाउने झन्झटलाई अन्त्य गर्ने उदेश्यका साथ कम्पनीले मोबाइलबाटै टिकट रकम दिन सक्ने व्यवस्था सुरु गरेको हो ।
प्राइम कर्मसियल बैंक र पृथ्वीराजमार्ग बस संचालक कम्पनीसँगबीचको सहकार्यमा सुरुमा एक सय वटा बसमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याईएको समितिले जनाएको छ ।
आज एक कार्यक्रमका विच नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख आर्या जोशी, प्राइम कमर्सियल बैंकका सहायक महा प्रबन्धक सुरेशमान सिंह र कम्पनीका अध्यक्ष योगेन्द्र केसीले संयुक्त रुपमा क्यूआर कोडको शुभारम्भ गरे ।
सो अवसरमा वोल्दै नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख आर्या जोशीले अब नगदी कारोबार डिजिटल माध्ययमबाटै अघि बढेको भन्दै हरेक क्षेत्रमा जसरी यातायातको क्षेत्रमा समेत डिजिटल बैंकिङ सेवा जोडिनु सकरात्मक पक्ष रहेको र यसलाई प्रभावकारी बनाउनु पर्ने वताईन् । प्राइम कमर्सियल बैंकका सहायक महाप्रबन्धक सुरेशमान सिंहले डिजिटल बैंकिङ सेवा सेवालाई प्रभावकारी बनाउने उद्धेश्यका साथ पृथ्वीराजमार्ग बस संचालक कम्पनीसँग सहकार्य गरिएको वताए । कार्यक्रममा पृथ्वीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले कम्पनी अन्तरगत एक हजार चार सय बढी बस सञ्चालनमा रहेको वताउदै हाललाई एक सयवटा वसमा यो सेवा जोडिएपनि विस्तारै सवै वसमा यो सेवा जोडिने वताए । कम्पनीले पृथ्वी मोबाईल एप्सबाट पनि टिकट काट्ने सेवा विस्तारलाई चाँडै नै लागू गर्ने केसीले वताए ।