पोखरा फागुन १८,
पोखरा महानगरपालिकाले फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा विभिन्न कार्यक्रम गरी यस महिनालाई अभियान स्वरूप आयोडिन महिनाका रूपमा मनाइएको हो ।
स्वस्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले नगरवासीहरूको स्वास्थ्य प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको वताए । विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै स्वास्थ्य प्रवर्द्धनका गतिविधिहरू सञ्चालन गरिएको थापाले वताए । महानगरको स्वास्थ्य महाखाका प्रमुख हेमप्रसाद आचार्यले महिनाभरि समन्वयात्मक, चेतनात्मक र जानकारी मूलक विभिन्न कार्यक्रमहरू गरिएको आचार्यले वताए । आयोडिन मानव शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषकतत्व भएकाले यस सम्बन्धमा नागरिक सचेतना अभिवृद्धि गर्नुपर्ने समेत आचार्यले वताए । महानगर स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष पूर्ण लामाले महानगर भित्र आयोडिनको कमीका कारण आउन सक्ने स्वास्थ्य जोखिमहरूको न्यूनीकरणका लागि प्रभावकारी रूपमा कार्यक्रमहरू सञ्चालन गर्नु पर्नेमा जोड दिए । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल पोखराकी संयोजक भिमा पौडेलले स्वास्थ्य सचेतना अभिवृद्धिमा महिला स्वास्थ्य स्वयसेविकाहरुको भूमिका महत्त्वपूर्ण रहेको वताईन् । साल्ट ट्रेडिङ गण्डकीका निर्देशक सागर शेरचनले मानव स्वास्थ्यका लागि आयोडिनको सेवन अनिवार्य र अत्यावश्यक रहेको वताए ।

कार्यक्रममा छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्मा, गुरुकुल माविका प्रधानाध्यापक नारायण आचार्य र पुष्प सदन माविका प्रधानाध्यापक शिवलाल रिमालले विद्यालय तहदेखि नै यसको महत्वलाई बुझाउन स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने वताएका थिए । जंकफुडहरुको अत्यधिक प्रयोगले विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिने गरेको बताउदै प्रध्यानाध्यापकहरुले यसको निषेधका लागि पोखरा महानगरपालिकाले प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिए ।

पोखरा महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कार्यक्रममा फोकल पर्सन सत्यराज साखीले नेपाल सरकारको पोषण कार्यक्रम अन्तरगत पहिलो प्राथमिकतामा रहेको यस कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको वताए । आयोडिनको कमीका कारण गलगाँड आउने, मानसिक तथा बौद्धिक विकासमा असर पर्ने, शारीरिक अपाङ्गता हुने, पुनरुत्पादन क्षमतामा ह्रास आउने, गर्भपतन हुने र बाल तथा मातृ मृत्युदर बढ्ने लगायतका समस्याहरू देखिने गर्दछन् ।

प्रतिव्यक्ति दैनिक ५ ग्राम आयोडिन आवश्यक पर्ने भए पनि विभिन्न अध्ययनहरूले भने ११ ग्राम सम्म आवश्यक पर्ने देखाउने गरेका छन् । आयोडिन मानसिक फुर्ती र शारीरिक शक्तिका रूपमा मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण मानिन्छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।