पोखरा आषाढ १३,
२०८० सालमा लिईएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । कुल ४ लाख ६४ हजार ७५८ जना परिक्षार्थीहरु परिक्षामा सामेल भएकामा २ लाख २२ ४ सय ४४ विद्यार्थी उतिर्ण भए भने २ लाख ४२ हजार ३१४ विद्यार्थी प्रतिशतका हिसावले ५२.१४प्रतिशत विद्यार्थी अनुतिर्ण भए । राष्ट्रिय परिक्षा वोर्डले आज नतिजा सार्वजनि गरेको हो ।
राष्ट्रिय परिक्षा वोर्डले २०७१ सालपछि पहिलो पटक पास÷फेलसहितको नतिजा निकालेको हो । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्न थालिएपछि पास÷फेल अङ्कित नगरी ग्रेडमात्र सार्वजनिक गरिन्थ्यो । कम अङ्क ल्याउने विद्यार्थीहरूको हकमा समेत माथिल्लो कक्षा पढ्न पाउने अवस्था थियो । तर, यो पटक भने ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागु भएसँगै नतिजामा पास÷फेलको विवरण देखिउको हो । २०८० सालको एसईईको नतिजा २०७१ साल अघिकै अवस्थामा फर्किएको छ ।
यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकमा कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीको प्रमाणपत्रमा ‘एनजी’ (नन ग्रेडेड) आएको छ । एन जी आएका विद्यार्थीहरु कक्षा ११ मा पढ्न पाउने छैनन् । त्यसका लागि बढीमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले एक महिनाभित्र हुने ग्रेड बृद्धि परीक्षामा सहभागी भएर ग्रेड बृद्धि गर्न पाउनेछन् । दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले अर्को वर्ष हुने एसईई परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । मौका परिक्षा साउनको १८ र १९ गते हुनेछ । बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक लाख १५ हजार ८३४ विद्यार्थीले ग्रेड बृद्धि परीक्षा दिन पाउनेछन् । तीमध्ये दुई विषयमा ‘एनजी’ आएका विद्यार्थीले साउन १८ र १९ गते हुने मौका परीक्षा दिन पाउनेछन् भने बाँकीले अर्को वर्ष हुने परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । यस वर्षको एस ईई परिक्षामा १६८ जनाले ४ जिपिए ल्याएका छन् । ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ३१२०९ रहेको छ । ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ६८ हजार २५६ रहेको छ । त्यसै गरि २.८०ं देखि ३.२० जिपिए ल्याउनेहरुको संख्या ७८ हजार ८७४ , २.४० देखि २.८० जिपिए ल्याउने ४११७७, २.०० देखि २.४० ल्याउने २९५० र १.६० देखि २.०० सम्म ल्याउने विद्यार्थीहरुको संख्या जम्मा ६ रहेको छ । २ लख ४२ हजार ३१३ जना विद्यार्थी एनजी (नन ग्रडिङ )अर्थात फेल भएका छन् ।
प्रदेशगत हिसावमा कोशी प्रदेशमा ७५ हजार ९८ड विद्यार्थीले परिक्षा दिएकोमा ३६ हजार ९३ विद्यार्थी उतिर्ण भए । यसैगरी मधेस प्रदेशबाट कुल ७९ हजार ५९२ परीक्षार्थीमध्ये ३७ हजार ३०६ जना, बागमती प्रदेशबाट ९९ हजार ८७२ जना परीक्षार्थीमध्ये ६६ हजार ३०जना उत्तीर्ण भएका छन् । यसैगरी गण्डकी प्रदेशबाट कुल ४० हजार ५२६ जना परीक्षार्थीमध्ये २० हजार २५१जना, लुम्बिनीबाट ८० हजार ३२७ जना परीक्षार्थी सहभागी भएकामा ३१ हजार १०१ जना ,कर्णालीबाट ३५ हजार ३४ जना परीक्षार्थीमध्ये १४ हजार ६५४ जना र सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी भएकामा १७ हजार २६ जना उत्तीर्ण भएका छन् ।