श्रीराम सिग्देल
संस्थापक अध्यक्ष ,चलचित्र पत्रकार संघ कास्की
आज असार २२ गते, चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाको २०औं स्थापना दिवस। बिषेश गरी चलचित्र, गित संगीत लगायत मनोरञ्जनका विविध बिषयहरुमा निरन्तर कलम चलाउने, पत्रकारहरुको बिशेष दिन। कास्की जिल्लामा २०६० सालदेखि हाल सम्म आईपुग्दा चलचित्र पत्रकार संघ, कृयाशिल रुपमा अगाडी बढिरहेको छ । यसमा आवद्ध चलचित्र पत्रकारहरु पनि आफुलाई समय सापेक्ष, प्रबिधि संगै परिमार्जित हुँदै अगाडि लम्कीरहेका छन् । समय सापेक्ष चलचित्र पत्रकारिता गरिरहेकै छन् । यो खुशीको कुरा हो तर आजको दिन सम्म आईपुग्दा पोखरामा ’विट’ पत्रकारीता कत्तीको फस्टाएको छ त प्रश्न यहाँ नेर उठ्न सक्छ । र यसको सहज जवाफ पनि जो कोहीले दिन सक्छन । विट पत्रकारिता काम चलाउ नै छ । मोफसलमा विट पत्रकारिता मात्र गरेर बाच्न सक्ने आधार अझै सम्म बन्न सकेको छैन ।
शुरुवातमा चलचित्र पत्रकारिता गर्ने पत्रकारहरुको संख्या एक दर्जनको हाराहारीमा मात्र थियो । समय संगै चलचित्र पत्रकारितामा आकर्षक बढ्दै गयो । फलस्वरुप चलचित्र पत्रकारहरुको संख्या पनी बढ्दै गयो। ५० को दशक नेपाली चलचित्र उद्योगलाई सुनौला अक्षरले लेखिने गरिन्छ। जुन समयमा नेपालमा धेरै सिनेमाहरु निर्माण भय ,प्रदर्शन भय अनी नयाँ नयाँ कलाकारहरुको उदय पनी भयो । सो समयमा चलचित्र पत्रकारहरुको संख्या पनी बढ्यो ।
नेपालमा चलचित्र पत्रकार संघको स्थापना २०५६ सालमा भएको हो। नयाँ सोंच, सकृयता र नयाँ अनुहारहरूको जोश र आग्रह अनुरुप २०५६ साल जेठ ७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा चलचित्र पत्रकार संघ दर्ता भयो। यसको संस्थापक अध्यक्ष भरत शाक्य हुनुहुन्छ । उहाको नेतृत्वमा चलचित्र पत्रकार संघको केन्द्रीय समितिले मान्यता पाएपछी संघ अहिले कृयाशिल रुपमा अगाडी बढिरहेको छ । आज चलचित्र पत्रकार संघ नेपालको यात्रा २४ औ बसन्त पार गरी २५औ बर्षमा कुदिरहेको छ ।
चलचित्र पत्रकार संघ नेपाल को केन्द्रीय समितिले पूर्णता पाई सके पछी जिल्ला शाखाहरु गठन गरी मोफसलमा पनि चलचित्र पत्रकार संघ गठनको शुरुवात केन्द्रिय समिति गर्यो। केन्द्रीय समिति पछी मोफसलमा पहिलो पटक कास्कीमा संघ गठन भएको तथ्य हामी संग छ। संस्थापक अध्यक्ष भरत शाक्यको प्रमुख आतिथ्यतामा २०६० असार २२ गते कास्कीमा कृयाशिल चलचित्र पत्रकारहरुको भेलाले सर्वसम्मत रुपमा सात सदस्यीय समिति गठन गरियो । दुई सदस्य पछि मनोनित हुने गरी गठीत संघको अध्यक्ष श्रीराम सिग्देल, उपाध्यक्ष नविन घायल, सचिव शिव शर्मा चन्चल, सहसचिव टंक खनाल र कोषाध्यक्ष ईन्द्र राई तथा सदस्यहरु बिभु भुषाल र एम बि आस्था चुनिए।पछी पहिलो बैठकबाट माधव बराल र सागरराज तिमिल्सिना लाई समिति मा मनोनित गरेपछी चलचित्र पत्रकार संघ कास्कीको नौ सदस्यीय कार्यसमिति बन्यो। जुन समिती चलचित्र पत्रकार संघ कास्कीको संस्थापक समिती हो। समय क्रम संगै कास्कीमा दोस्रो अधिवेशनबाट शिब शर्मा चन्चल, तेस्रो अधिवेशनबाट रेम बिक,चौथो अधिवेशन बाट अरुण गिरी तथा पाँचौ अधिवेशन बाट प्रभु अधिकारी अध्यक्ष रहेर काम गरिरहेका छन्। सबैले आफ्नो कार्यकालमा केही न केही महत्वपूर्ण कामहरु गर्दै आईरहेका छन्। चलचित्र पत्रकार संघ नेपाल कास्की शाखा कृयाशिल रुपमा अगाडी बढिरहेको छ।
चलचित्र पत्रकार संघले स्थापना संगै पत्रकारहरुका हक हित संरक्षण, ब्यवसायीक पत्रकारितामा जोड दिने लगायतका बिषयहरु उठान संगै नेपाली चलचित्र उद्योगको दिर्घकालिन हितलाई लक्षित गरेको थियो। पेशागत संस्था भएकोले मुल उध्येश्य र सिद्धान्त ठीक रहेपनि चलचित्र पत्रकारहरुले यि लक्ष्य उध्येश्य कति पुरा गर्न सकीयो भन्ने बिषयमा समय समयमा बहस समिक्षा हुनु जरुरी छ। स्थापना दिवसमा तय गरिने नाराले पनी धेरै अर्थ राख्छन। सोही अनुरुप कार्यक्रम अगाडी सारिनु पर्दछ। समय सापेक्ष संघका गतिविधि अगाडी बढाउनु पर्दछ।यो क्रम जारी रहेको छ ।
चलचित्र पत्रकार संघ कास्की शाखा स्थापना हुनु पूर्व पोखरामा केही कृयाशिल पत्रकारहरूले चलचित्र पत्रकारिता गरेर पनी अपमानित हुनु परेका घटना हामी सामु जिबित छन् । चलचित्रका समाचार, पत्र पत्रिकामा छाप्ने बिषयमा, यो समाचार नै होईन भनेर रद्दीको टोकरीमा फाल्ने काम केही पत्रिकाका सम्पादकले गरे भने केहीले स्थान दिनु पर्छ भनेर आकर्षण पनी थपेका थिए । समाचार लेखेर कार्यालयमा लगी छापीदिनोस न भन्दा तेस्ता जवाफ सुन्नु परेको थियो। निकै अपमान सहँदै , संघर्ष गर्दै अगाडी बढेका कास्कीका पत्रकारहरुले चलचित्र पत्रकार संघ, कास्की शाखाको मान्यता पायपछी भने केही राहत पाएको महशुस भयो। २०६० सालमा कास्की शाखा गठन पछी संघले आफ्नै कार्यालय सञ्चालन पनि गरेको थियो। कार्यालय सञ्चालन तथा चलचित्र पत्रकारहरूको संरक्षण सम्वर्द्धन गर्न पत्रकार कल्याणकारी कोष स्थापना गर्ने जमर्को गरिएको थियो। कोष सञ्चालन गर्न आर्थिक अभाव थियो। बिभिन्न चलचित्रहरुको च्यारिटी शो गरेर संकलित रकम जम्मा पनी गरिएको थियो। तर कुनै एक पत्रकारले सो रकम लिएर भागे पछी अभियान रोकीयो । कार्यालय पनी बन्द भयो । स्थापनाकालिन चलचित्र पत्रकार संघ कास्कीको कार्यसमिती अलि निष्कृय जस्तै बन्यो चलचित्र पत्रकारिता भने रोकीएन। संघ आफ्नै गतिमा अगाडि बढ्दै गयो। धेरै उतार चढावका बावजुद संघका गतिविधि पनि रोकीएनन् क्रमशः संघ समय सापेक्ष यहाँ सम्म आईपुगेको छ ।
कास्की जिल्लामा चलचित्र पत्रकारिताको अवस्था पछिल्लो समयमा अलि कमजोर हुदै गएको छ।अहिले केही पत्रकारहरुले निरन्तर चलचित्र पत्रकारिता गरिरहेका पनी छन् तर जुन रुपमा सबै पत्रकारहरुले गरिरहनु पर्थ्यो त्यो भयको छैन। चलचित्र पत्रकारिता मात्र गरेर बाँच्न सक्ने अवस्था पनी छैन। मोफसलमा त सबै विटको पत्रकारिता नगरी सुखै छैन। सन्चार गृहले एउटा मात्र विटको समाचार लेखेर तलव भत्ता दिन सक्ने अवस्था पनी देखिदैन ।
चलचित्र पत्रकार संघ, चलचित्र पत्रकारिता गर्ने पत्रकारहरुको संस्था हो। जुन उध्येश्य राखेर यो संघ गठन भयो त्यो अनुरुप हुन सकेको छैन । समय समयमा संघले यि र यस्ता आवाजहरू उठाउँदै पनी आईरहेको छ। तेसले मुर्तरुप पाउन सकेको छैन। सरकारी तवरबाट पनी यो बिषयमा खासै चासो या तेस प्रकारको सम्बोधन कहीं कतै भएको सुनिदैन। यसरी विट पत्रकारिता गर्नेहरुको अवस्था नाजुक छ। ब्रोडसिट, काठमाडौंबाट प्रकाशित हुने ठूला दैनिक पत्रिका, टेलिभिजन, एफ एम रेडियोहरु तथा ठूला केही अनलाइन मिडिया बाहेक मोफसलमा छुट्टै विटमा लेख्ने पत्रकार छैनन् भन्दा अन्याय हुदैन ।
यस्तै यस्तै कथा ब्यथा संघर्ष गर्दै कास्कीको चलचित्र पत्रकारिताले स्थापनाको दुई दशक पार गरिसकेको छ। चलचित्र पत्रकारिता पूर्ण ब्यवसायिक , ब्यवस्थित, मर्यादित, हुनु पर्छ भन्ने संघको माग कायमै छ। संघले समय समयमा आफ्ना आवाजहरु उठाउदै आईरहेको छ, उठाईरहने छ। नेपाली सिनेमा उध्योगको बिकाश, नभय सम्म चलचित्र पत्रकारिताको पनी बिकाश हुन सक्दैन भन्ने ठम्याई पनी संघको हो। चलचित्र पत्रकारिता परिस्कृत बन्दै जानु पर्छ। यो हामी सबैको मुल मन्त्र हो। संघले यो वर्ष “चलचित्र पत्रकारिताको मूल मर्म, व्यवसायिक पत्रकारिताको लागि सञ्चार कर्म“ भन्ने नारा अवलम्बन गर्दै बिभिन्न गतिविधिका साथ अगाडी बढेको छ। आम चलचित्र पत्रकारिता प्रेमी, सबै सबैले आ आफ्नो ठाउबाट चलचित्र पत्रकारिता, अनी चलचित्र पत्रकार संघको श्रीबृद्धिमा साथ र सहयोग गर्दै अगाडी बढौँ। चलचित्र पत्रकार संघको स्थापना दिवसमा सबैलाई शुभकामना ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।