पोखरा चैत्र ४,
होटल संघ पोखराले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा फेवा नव बर्ष महोत्सव आयोजना गर्न लागेको छ । प्रत्येक वर्ष आयोजना गरिने फेवा नव वर्ष महोत्सव यो वर्ष २० औ संस्करणको हो । संघले २० औं फेवा नव बर्ष महोत्सव २०८२ को तयारी तीव्र पारिएको जनाएको छ ।
संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले सो कुराको जानकारी दिए । महोत्सव सम्पन्न गर्न विभिन्न समिति र उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको सुवेदीले वताए । महोत्सवमा अवसरमा संघ अन्तर्गतका सदस्य होटलमा रात बिताउने पाहुनालाई प्रचलित दररेटमा २० प्रतिशत छुट प्रदान गरिने समेत सुवेदीले वताए ।

यसैगरी संघले महोत्सवकै प्रचारका लागि हालै पूर्वी नेपालमा जाउँ है पोखरा अभियान सम्पन्न गरेको र पश्चिम नेपालमा पनि यस्तो अभियान छिटै संचालन गरिने जानकारी उनले गराए । जाउँ है पोखरा अभियान र फेवा नव वर्ष महोत्सव जस्ता कार्यक्रमकै कारण पोखरा आउने आन्तरिक पर्यटक हाल ४० प्रतिशत पुगेको तथ्यांक पनि उनले दिए । दुई दशक अघि यस्तो संख्या तीन प्रतिशत मात्र रहेको सुवेदीले वताए । पोखराका होटलमा अहिले पाहुनाको समग्र अकुपेन्सी दर ४० प्रतिशत हाराहारी रहेको जानकारी पनि अध्यक्ष सुवेदीले गराए । भारतीय पर्यटकको संख्या पनि उल्लेख्य रहेको उनले बताए । पोखराका एक हजार दुई सय होटलमा ४० हजार वेड रहेको र यहाँको होटल क्षेत्रमा मात्र ५ खर्ब रुपैयाँ हाराहारी लगानी रहेको संघको आंकलन छ ।

स्थानीय ड्यामसाइडदेखि खहरेसम्म सडकमा नै संचालन हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटन, संस्कृति र खाना भन्ने नारासहित यो महोत्सव हुन लागेको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए । रैथाने र परम्परागत खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, मनोरञ्जन र खेलकूदका कार्यक्रम, पर्यटक दौड, पप कन्सर्ट, कृषि र हस्तकलाका सामग्रीको प्रर्दशनी र लोकदोहोरीका कार्यक्रम महोत्सवका प्रमुख आकर्षण रहने छन् ।

पर्यटनको राजधानी पोखरामा पोखरा भ्रमण वर्ष २०२५ चल्दै गर्दा हुन लागेको यो महोत्सवले फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं वाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य पनि लिएको छ । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउने र यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ । सांस्कृतिक झाँकीसहित अम्मटमा महोत्सवको उद्घाटन कार्यक्रम हुने छ । महोत्सवलाई पोखरा महानगरपालिका, होटल संघ नेपाल, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले सघाउने सो अवसरमा जानकारी गराईृयो ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले फेवा महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने वताए । संघका सल्लाहकार परिषद्का सदस्य एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले सकारात्मक माहोलले पर्यटनलाई अगाडि बढाउन मद्दत पुग्ने वताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव वरालले पोखरा आउने पर्यटकको तथ्यांक राख्न सम्वन्धित संस्थालाई सुझाव दिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।