काठमाण्डौ मंसीर ३,
भोली मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मुलुकभर एकै चरणमा हुदै छ । भोली हुने निर्वाचनको संपूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । विहान ७.०० वजे देखि साँझ ५.०० वजे सम्म निर्वाचन हुने भएकाले यस ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न संपूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आग्रह गरेका छन् ।
नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको समेत प्रमुख आयुक्त थपलियाले वताए ।
निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले मतदान हुने दिन मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाइ मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति सिर्जना गर्ने वा गराउन खोज्ने, मतपत्रको दुरूपयोग गर्ने, मतदानको अधिकारविना मतदान गर्ने, पटक पटक मतदान गर्न खोज्ने, मत संकेत सार्वजनिक गर्ने, मतदातासँग अर्को कुनै अनाधिकृत व्यक्ति मतदान कक्षमा जाने तथा मतदान अधिकृतले निषेध गरेको कुनै कार्य गर्न खोज्ने जो कोहीलाई कानुनबमोजिम कारवाही गरिने प्रमुख आयुक्त थपलियाले वताएका छन् ।
निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन संचालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा भोलि २०७९ मंसिर ४ गते आइतबार आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्नु हुन निर्वाचन आयोग सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछ । प्रमुख आयुक्त थपलियाले आफ्नो अपिलमा उललेख गरेका छन् ।