पोखरा भाद्र १२,
बहुचर्चित अन्तर्राष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ का निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ’बर एण्ड बधु’ को भव्य “ग्रान्ड रेड कार्पेट प्रीमियर शो“ पोखराको मिडटाउन सिनेमाजमा सम्पन्न भएको छ । प्रीमियर शोमा चलचित्रका प्रमुख कलाकारहरू नायिका आँचल शर्मा, नव नायक विवेक कर्माचार्य, कलाकार किरण केसी, कुसुम शर्मा, बिजु पार्की लगायतको साथमा निर्देशक मिलन चाम्स र निर्माती जानुका थापाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा निर्देशक मिलन चाम्सले चलचित्रको विषयवस्तु र निर्माणका क्रममा भएका अनुभवहरूलाई दर्शकहरूसँग बाँडे । उनले ‘बर एण्ड बधु’ रोमान्टिक लभ स्टोरीमा आधारित रहेको र युवा पुस्तालाई लक्षित गर्दै बढी ग्ल्यामर र मनोरञ्जनात्मक बनाइएको जानकारी गराए । चलचित्रका मुख्य अभिनेत्री आँचल शर्माले आफ्नो भूमिकाबारे धारणा राख्दै, चलचित्रमा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । नव नायक विवेक कर्माचार्यले यो चलचित्र आफ्नो करियरको सुरुवातका लागि महत्वपूर्ण रहेको बताउँदै दर्शकहरूसँग प्रेम र समर्थनको अपेक्षा गरे । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष प्रभु अधिकारीले पोखरामा हुने यस्ता खालका ग्रान्ड कार्यक्रमले चलचित्र क्षेत्रको बिकासमा टेवा पुग्ने बिश्वास व्यक्त गरे ।
चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् भने छायांकन रोमानिया, फ्रान्स, इटली, स्पेन र नेपालका सुन्दर लोकेसनमा गरिएको छ । छायाकार रवीन्द्र न्यौपाने, अनिश स्याङ्देन, र डिओपी सुदीप बरालले चलचित्रका दृश्यहरूलाई अत्यन्तै आकर्षक बनाएका छन् । रेड कार्पेट प्रीमियरमा नेपाली चलचित्र उद्योगका प्रतिष्ठित व्यक्तित्वहरू, मिडिया प्रतिनिधिहरू, र दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।