पोखरा कार्तिक ८,
पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीले महानगर क्षेत्रका कृषकहरूले उत्पादन गरेको स्थानीय रैथाने धान बाली जेठोबुढो खरिद समितिले तोकेको खरिद मूल्यमा खरिद गर्नेछ । यसका लागि महानगरपालिकाले वास्तविक कृषक पहिचान र खरिद समितिले तोकेको परिमाणमा धान खरिद गर्न कृषकहरूलाई कुपन उपलब्ध गराउनेछ । २०८२ आषाढ मसान्त सम्मका लागि गरिएको यो सम्झौता मुताबिक तत्काललाई स्थानीय रैथाने धान बाली जेठोबुढोको खरिद हुनेछ, भने आवश्यकता अनुसार अन्य रैथाने उत्पादनहरूको समेत खरिद गर्न सकिनेमा दुवै पक्षहरू सहमत छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट प्रादेशिक कार्यालयका निमित्त प्रमुख रञ्जना के.सिले हस्ताक्षर गरेका छन् ।

कृषकहरूले आफ्नो खेतमा उत्पादन भएको धान महानगरपालिकाले तोकेको स्थान वा कम्पनीको बिरौटा र पृथ्वीचोकमा रहेको गोदामसम्म आफैले ढुवानी गर्नुपर्ने संझोतामा जनाईएको छ । सम्झौताले कृषकहरूको उत्पादनको बजारीकरण सुनिश्चित भएको नगर प्रमुख आचार्यले वताए । कृषकहरूले उत्पादन गरेको धान बजारमा नबिक्ने हो की, भन्ने चिन्ताको यसले अन्त्य गरिदिएको र पोखर महानगर क्षेत्रमा उत्पादित जेठोबुढो धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत देशभरिका नागरिकहरूको चुलोमा पुग्ने अवस्था सुनिश्चित भएको प्रमुख आचार्यले वताए ।
जेठोबुढो सहित अन्य ३५ प्रकारका कृषि उपजहरूको पनि समर्थन मूल्य तोकेर महानगरपालिकाले कृषकहरूका लागि न्यूनतम मुनाफा समेतको मूल्य सुनिश्चित गरेको महानगरपालिकाले जनाएको छ । स्थानीय उत्पादन प्रवर्द्धन अभियान अन्तरगत कृषि उपजहरूको ब्राण्डिङ तथा बजारीकरण र रैथाने हाटबजार पनि सञ्चालन सञ्चालन गरिएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले वताए । कडरियाका अनुसार पोखरा महानगर क्षेत्रको करिब ४ हजार हेक्टर क्षेत्रफलमा जेठोबुढो लगाइएको छ भने, करिब १४ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । महानगरपालिकाले तोकेको समर्थन मूल्यका आधारमा जेठोबुढो धान प्रतिक्विन्टल रु.९ हजार ५ सय र नेपाल खाद्य संस्थानले भने रु.११ हजार प्रतिक्विन्टलमा खरिद गर्ने भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।