पोखरा पौष १३,
रेष्टुरेन्ट एण्ड वार एसोसिएसन पोखराको आयोजनामा आज देखि पोखराको लेकसाईड क्षेत्रमा सडक महोत्सव सुरु भएको छ । सडकमै खाउ सकडमै नाचौ र सडकमै रमाउ भन्ने नाराका साथ विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रेवानले सडक महोत्सव आयोजना गरेको हो । विगतका २ वर्ष कोरोनाको कारण सडक महोत्सव हुन नसकेको भएपनि यस वर्ष २४ औ श्रीङ्खलाको रुपमा सडक महोत्सवको अयोजना गरिएको छ । पोखराको हल्लन चोक देखि फिष्टेल गेट सम्म साढे दुई किलोमिटर क्षेत्रमा सडक महोत्सव आयोजना गरिएको छ । सडक महोत्सवको उद्धघाटन पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले गरेका थिए । सो अवसरमा आचार्यले पोखरालाइ पर्यटनको राजधानी घोषण गर्न पहल भईरहेको वताए । पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्धघाटन पौष १७ गते हुन लागेको वताउदै पोखरा अन्तराष्ट्रिय विमानस्थलको सञ्चालन संगै पोखरामा पर्यटकहरुको वृद्धि हुने र यसले पोखराको मात्रै नभई यस क्षेत्रको समग्र विकास हुने आचार्यले वताए । कार्यक्रममा रेवानका केन्द्रिय अध्यक्ष अरनीको राजभण्डारीले रेवानले गर्ने सडक महोत्वसव पोखराको व्राण्ड वनिसकेको वताउदै यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पोखरा आउन पर्यटकहरुलाई म्यासेज दिने गरेको वताए । वैकहरुको व्याज वृद्धिले पर्यटन ब्यवसायीहरु आक्रान्त भएको भन्दै ब्याज घटाउन सरकारलेनै पहल कदमी लिनुपर्ने राजभण्डारीले वताए । कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक वहादुर केसी,नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गरेका थिए । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रको सञ्चालन महासचिव विकाश भट्टराईले गरेका थिए ।
महोत्सवको उद्धघाटन पूर्व हल्लन चोक देखि कार्यक्रम स्थल कोमागाने पार्क सम्म विभिन्न झाँकी सहितको शोभायात्रा निकालिएको थियो । बिभिन्न संघ संस्था, आमा समूह, धार्मिक तथा जातिय संस्था, लगायतले आ आफ्ना भेष भूषा सहित सहभागिता जनाएका थिए । कार्यक्रमको अवसरमा उत्कृष्ठ भाँकी प्रदर्शन गर्ने संस्थाहरुलाई पुरस्कृत समेत गरिएको थियो ।