पोखरा, वैशाख ५,
पोखरा महानगरपालिका क्षेत्र भित्र न्यूनआयभएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ । पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैङ्क लिमिटेडका बिचमा महानगर क्षेत्रमा १०० नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको महानगरपालिकाले जनाएको छ ।
सम्झौतामा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्ति आवासको लागि सहयोग समूहको तर्फबाट कार्यकारी निर्देशक लजना मानन्धर र कामना सेवाविकास बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हस्ताक्षर गरेका छन् । न्यून आयभएका व्यक्तिहरूको आवास निर्माण तथा आय आर्जनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई उनीहरूको आर्थिक स्तर वृद्धि गर्ने उद्देश्य अनुरुप यो योजना अगाडि वढ्ने वताईएको छ ।
पोखरा महानगरपालिका क्षेत्रभित्र रहेका सुरक्षित आवासको व्यवस्था नभएका तथा न्यून आयभएका वर्गलाई लक्षित गरी त्रिपक्षीय सहकार्यमा यो योजना लागु गरिएको वतार्यन्छ । महानगरपालिकाले निर्धारण गरेको मापदण्ड भित्र सिफारिस भई आए बमोजिम कामना सेवाविकास बैकले नयाँ घर निर्माण तथा मर्मत सुधारका लागि अधिकतम रु.७ लाख सम्म न्यून लागत आवास कर्जा प्रवाह संझौतामा उल्लेख छ । लाभग्राहीले पाउने न्यून लागत आवास कर्जाको सात लाखमध्ये लुमन्तिले ४० प्रतिशत, पोखरा महानगरपालिकाले १० प्रतिशत र ५० प्रतिशतकामना सेवाविकास बैकले लगानी गर्नेछ । उक्त कर्जामा वार्षिक ९.९९ प्रतिशत ब्याज लाग्नेछ यस वाहेक अन्य कुनै शुल्क लिईनेछैन । सम्झौताको कुल रकम रु.७ करोड रहेको छ । प्रत्येक लाभ ग्राहीलाई ७ लाखका दरले वार्षिक ९.९९ प्रतिशतब्याजदरमा सात वर्ष भित्र रु.११ हजार ६१७ का दरले ८४ किस्तामा तिर्ने गरी न्यून लागत आवास कर्जा उपलब्ध गराइने र १ वर्ष भित्र १०० वटा घर बनाउने कार्य सम्पन्न गरिने संझौतामा उल्लेख गरिएको छ ।
सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिका भित्र आफ्नै जमिन भएका तर, कमजोर आर्थिक अवस्थाका कारण आवास विहीन भई बस्नु परेका नागरिकका लागि यो सहुलियतपूर्ण सहायता निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । सुरक्षित आवास नागरिकको मौलिक अधिकार भन्ने कुरालार्ई ध्यानमा राख्दै न्यून आयभएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका सुरक्षित आवास निर्माणको सम्झौता भएको र यो कार्यक्रमले घर नहुनेहरूलाई घरको मालिक बनाउने प्रमुख आचार्यले वताए ।
लुमन्तिकी कार्यकारी अधिकृत लजना मानन्धरले गरिबी न्यूनीकरण, सामाजिक परिचालन तथा सामाजिक विकास तथा सुशासन प्रबद्र्धनमा आफूहरू लागि रहेको वताउदै पोखरा महानगरपालिका, लुमन्तिको सहयोग र कामना सेवाविकास बैङ्कको सहयोगमा हाल सम्म १०३७ घर निर्माण तथा मर्मत वताईन् ।
कामना सेवाविकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले लुमन्ती र पोखरा महानगरपालिकासगँको सहकार्यमा आवास विहीनहरूको आवास निर्माण कार्यमा साझेदार बन्न पाएकोमा खुसीव्यक्त गर्दै स्थानीय सरकारको सहकार्यमा आवास निर्माण जस्तो महत्वपूर्ण क्षेत्रमा थप लगानीकालागि आफूहरू तयार रहेको वताए ।