पोखरा मंसीर १६,
पोखराको निजी क्षेत्रको प्रतिनिधि मुलक संस्था पोखरा उद्योग वाणिज्य संघको आयोजनामा राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ । पोखरा ९ नयाँवजार स्थित पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गरिएको मेलाको एक कार्यक्रमका विच गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले उद्धघाटन गरेका छन् । उद्घाटनका अवसरमा मन्तव्य ब्यक्त गर्दै मन्त्री थापाले निजी क्षेत्रको हकहितमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । मुलुकको विकास र संमृद्धिका लागि निजी क्षेत्र वलियो हुनुपर्ने भन्दै मन्त्री थापाले निजी क्षेत्रको समृद्धि बिना मुलुकको समृद्धि सम्भव नभएको वताए ।
संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, महासचिव वलराम आचार्य, लगायतले मन्तव्य ब्यक्त गरेका थिए । मंसिर १६ देखि २५ गतेसम्म सञ्चालन हुने मेलामा औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुको प्रवर्घन गरिने आयोजकले वताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धन,समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको छ
मेलाको प्रवेश टिकटको हकमा सर्वसाधारणको लागि १ सय र विद्यार्थीको लागि ६० रुपैयाँ कायम गरिएको छ ।
मेलामा २५० स्टल रहने वताईएको भएपनि उद्घाटन हुने समय सम्म पनि अधिकांश स्टलहरुमा सामान राखिएको थिएन । केही स्टल खाली रहेका छन् भने केही स्टलहरुमा व्यापारीहरुले सामान मिलाउदै गरेको देखिएको थियो । अघिल्ला अघिल्ला वर्षहरुमा उद्घाटनका दिन प्राय स्टलहरु भरिभराउ भईसकेका हुन्थे भने यसपटक त्यस्तो देखिएन । उद्घाटनको दिन दर्शक तथा सहभागिहरुको सहभागिता समेत न्यून देखिन्थ्यो । मेलाको उद्घाटन पूर्व पोखरा उद्योग वािणज्य संघको कार्यालय परिषर गैहपाटनवाट संघका पदाधिकारी, बिभिन्न उप समिति , आमा समूह, वस्तुगत संघ सहितको सहभागितामा प्रभातफेरी निकालिएको थियो । कोरोनाका कारण ३ वर्ष सम्म हुन नसकेको मेला ३ वर्ष पछि हुन लाग्दा समेत दर्शकहरुको सहभागिता उद्घाटनको दिनमानै न्यून देखिदा मेला महोत्सव प्रति दर्शकहरुको आकर्षण घटेको रुपमा समेत विश्लेषण गर्न थालिएको छ । तथापि पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा दर्शकहरुको सहभागिता पछिल्ला दिनहरुमा वढ्ने आशा आयोजकले लिएको छ । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्यागिक व्यापार मेलाको मुख्य प्रायोजकमा संमृद्धि स्टील रहेकाले उसैको नामवाट मेलाको नाम संमृद्धी स्टील राष्ट्रिय औद्योगिक व्यापार मेला राखिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।