पोखरा माघ २५,
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहरलाई सुन्दर बनाउने अभियानबाट पोखरा महानगरपालिका पछाडि नफर्कने वताएका छन् । पोखराको मुख्यबजार क्षेत्र पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँबजार हुँदै पृथ्वी चोकसम्मको सडकमा भइरहेको पार्किङ व्यवस्थापनका विषयमा मंगलवार सरोकारवाला निकायहरूसँग गरिएको छलफल कार्यक्रममा आचार्यले पोखरालाई सुन्दर वनाउने विषय पार्किङ व्यवस्थापन संग जोडिएको छ ,पोखरा सहर सुन्दर हुनै पर्छ, यो कसैको जित र हारको विषय होइन भन्दै पोखराको भविष्यसँग जोडिएको विषय भएको हुनाले सबैले समन्वय गरेर यसलाई कार्यान्वयन गर्नुको विकल्प नभएको वताए । पोखराको मुख्य क्षेत्रबाट सुरु गरिएको पार्किङ व्यवस्थापनलाई बिस्तारै पोखराका अन्य क्षेत्रहरूमा पनि विस्तार गरिने प्रमुख आचार्यले वताए । सडक पार्किङको विकल्पका रूपमा तोकिएको क्षेत्रमा पर्याप्त मात्रामा अन्डरग्राउन्ड पार्किङहरू रहेका र तिनीहरूमा महानगरले आवश्यक समन्वय गरिरहेको आचार्यले वताए ।
यसबाहेक यी क्षेत्रमा रहेका खाली जग्गाहरूलाई समेत पार्किङका लागि व्यवस्था गरिएको उनले वताए । हाल तोकिएको पार्किङ शुल्कका विषयमा सम्बन्धित सरोकारवालाहरुसंग छलफल गरेर उपयुक्त शुल्क निर्धारण गरिने प्रमुख आचार्यले छलफलका क्रममा वताएका थिए । अर्को व्यवस्था नभएसम्मका लागि पोखरा सभागृह, पोखरा प्रदर्शनी केन्द्र र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र नयाँबजार लगायतका केही स्थानमा निःशुल्क पार्किङको ब्यवस्था गरिएको समेत सो अवसरमा जानकारी गराईएको थियो ।
छलफलका क्रममा यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराज रिजालले कुनैपनि पनि व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनका दौरानमा आफ्ना सेवाग्राहीहरूकालागि आवश्यक पार्किङको व्यवस्था गर्न जरुरी रहेको वताए । व्यापार तथा व्यवसायका नाममा हुने कुनै पनि प्रकारको सार्वजनिक अवरोध स्वीकार्य नहुने बताउँदै वैकल्पिक उपायहरूको अवलम्बन गर्न बुद्धिमानी हुने रिजालले वताए । जिल्लाप्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले पोखराको पहिचान व्यवस्थित सहर र मर्यादित नागरिक भन्ने बनाउने हो भने सडकमा भइरहेको पार्किङलाई व्यवस्थापन गर्नुको विकल्पनभएको वताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले भने महानगरले एक्कासि पार्किङ निषेधको सूचना जारी गर्दा व्यवसायीहरूमा त्रासको वातावरण सृजना भएको वताए । सडकमा एकतर्फी भएपनि पार्किङको व्यवस्था गर्नु पनर्माे जोड दिँदै अध्यक्ष प्रजापतिले आफूहरू यसको सम्बन्धमा आवश्यक सहजीकरण गर्न तयार रहेको वताए । महानगरको योजना सकारात्मक भए पनि तत्काल पार्किङ विस्थापन गरी व्यवसायीहरूलाई थप शिथिल बनाउन नहुने प्रजापतिले वताएका थिए ।
कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय गण्डकीका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले ट्राफिक व्यवस्थापनका लागि व्यवसायीहरूको सकारात्मक सहयोग हुनु पर्ने वताउदै सहरलाई सुन्दर र व्यवस्थित बनाउने जिम्मेवारी व्यवसायीको समेत हुनेभएको कारण सहयोग गर्नुपर्ने वताए । सडकमा भइरहेको पार्किङलाई व्यवस्थापन गरियो भने दुर्घटनाको जोखिम समेत कम हुने सुवेदीले वताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले मुख्यबजार क्षेत्रहरूको सडकमा गरिएको अव्यवस्थित पार्किङका कारण व्यवस्थापनमा समस्या भइहरेको वताएका थिए । सयै विच पार्किङका लागि ३ दर्जन बढी अन्डर ग्राउन्ड र दर्जन बढी खाली जग्गाहरूमा पर्याप्त व्यवस्थागरिएको महानगरपालिकाले जनाएको छ ।