पोखरा भाद्र २९ ,
पोखराका उद्योगी व्यवसायीहरुको नेतृत्वदायी संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशनको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका विच गरे । उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले उद्योगी व्यवसायीका समस्याहरू समाधानका लागि आवश्यक पहल गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको वताए ।
लगानीको वातावरण तयार गर्ने र उत्पादित वस्तुको बजार व्यवस्थापनका लागि स्थानीय सरकारको तर्फबाट गर्नु पर्ने नीतिगत व्यवस्था सहितका आवश्यक व्यवस्थापन तथा सहजिकरणका लागि महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले विश्वास ब्यक्त गरे । समग्र मुलुकको विकास प्रक्रियामा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउँदै आचार्यले निजी क्षेत्रको सहभागिता र प्रोत्साहन विना विकास सम्भव नहुने वताए । कुनै पनि बाहानमा निजी क्षेत्रलाई उपेक्षा वा निरुत्साहन गरेर जाने कार्य प्रतिउत्पादक हुने आचार्यले वताए ।
व्यवसायीहरूले पनि आफ्नो व्यवसाय प्रवर्द्धनका लागि समयसापेक्ष रूपमा आफ्ना रणनीतिहरूलाई कार्यान्वयन गर्दै लैजान प्रमुख आचार्यले सुझाव दिए । बढ्दो प्रविधिका बिच आफ्ना रणनीतिहरूमा आवश्यक परिमार्जन सहित परिष्कृत सेवामा जोड दिनुपर्ने पर्ने आचार्यले वताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष रञ्जन श्रेष्ठ, नेपाल उदोग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मूल्मी लगायतका वक्ताहरुले निजी क्षेत्रको लगानीलाई सुरक्षाको प्रत्याभूति दिलाउन राज्य जिम्मेवार हुनु पर्ने बताएका थिए ।
पोखरा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि आज मतदान भईरहेको छ । विहान ८.०० वजे देखि भएको मतदान साँझ ५ वजे सम्म हुने निर्वाचन समितिका संयोजक कृष्ण मोहन श्रेष्ठले जानकारी दिए । अध्यक्षमा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की पूर्व महासचिव अर्जुन पोखरेल विच प्रतिष्प्रर्धा हुदैछ । पदाधिकारीहरुमा भने अधिकांश पदमा निविरोध भईसकेको छ । वरिष्ठ उपाध्यक्षमा उत्तममान वुद्धाचार्य, उद्योग तर्फको उपाध्यक्षमा दिनेश चन्द्र वास्तोला, वाणिज्य तर्फको उपाध्यक्षमा वलराम आचार्य, महासचिवमा शोभा गौतम, र कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भईसकेका छन् । संघमा अध्यक्ष सहित ७ पदाधिकारी, १० खुल्ला सदस्य, ४ वस्तुगत सदस्य, २ एसोसियट सदस्य र १ उद्योग तर्फको सदस्य का लागि निर्वाचन भईरहेको छ ।