पोखरा, कार्तिक २८,
पोखरा महानगरपालिकामा यतिवेला करारका कर्मचारी हटाउने विषयले गतिरोध उत्पन्न भएको छ । पोखरा महानगरपालिकामा एमालेको तर्फवाट निर्वाचित भएका जनप्रतिनिधीहरु आन्दोलित वनेका छन् । महानगरपालिकाको कार्तिक १५ गते वसेको ३७ औ वोर्ड वैठकले करार सेवाका २८ जना कर्मचारीहरुसंगको करार संझौता थप नगर्ने र उनिहरुलाई चाडपर्व भत्ता सहित कार्तिक महिनाको सेवा सुविधा दिएर विदा गर्ने निर्णय गरेपछि नेकपा एमालेवाट निर्वाचित भएका वडा अध्यक्षहरुले उक्त निर्णयको विरोध गरेका छन् । नेकपा एमालेका जनप्रतिनिधिहरुले विज्ञप्तीनै प्रकाशित गरेर उक्त निर्णय सच्चयाउन दवाव दिईरहेका छन् । उनिहरुले नगरप्रमुखले उक्त निर्णय नसच्याए आन्दोलन जारी राख्ने र नगर सभाको साहरा लिने समेत चेतावनी दिएका छन् । नगर प्रमुखको सचिवालयले भने महानगरपालिकामा कार्यरत करार सेवाका कर्मचारीहरूको व्यवस्थापनका सन्दर्भमा विगतमा विभिन्न चरणमा छलफल हुँदै आएको र महानगरमा वर्तमान टिम निर्वाचित भएपछि पक्ष–विपक्ष वा बहुमत–अल्पमतको धारणा नराखिएको र हालसम्मका ३६ वटा बैठकहरूका सम्पूर्ण निर्णयहरू आवश्यक छलफल गरी सर्वसम्मत रूपमा हुँदै आएकोले यसलाई निरन्तरता दिनु आवश्यक रहेकोमा महानगर नेतृत्व स्पष्ट रहेको जनाएको छ । करारका २८ जना कर्मचारी हटाउने निर्णय बिधि सम्मत रहेको र ७ जना शिक्षीका र सामाजिक परिचालको सन्दर्भमा यस अगाडि महानगरपालिकाले दिएको विकल्प सहित सेवामा रहने वा विकल्प रोज्ने स्व निर्णयको अधिकार दिएको विज्ञप्ती निकालेर जनाएको थियो । दुवै पक्षवाट वक्तव्यवाजी गर्ने कार्य भएपनि समस्या समाधान नभई झनै चर्कने अवस्थामा पुग्यो । । नगर प्रमुख र उप प्रमुख देश वाहिर भएको वेलामा आन्दोलनरत पक्षको कुटाईवाट नगर प्रहरीका प्रहरी सहायक निरिक्षक शान्त केसी गम्भिर रुपमा घाईते पनि वने । उनको अण्डकोषमा आन्दोलनकारीहरुले प्रहार गरेको कारण अस्पताल भर्ना भएका केसीको शल्यक्रियानै गर्नुपरेको वताईएको छ । पोखरा महानगरपालिकामा नेपाली काँग्रेसवाट प्रतिनिधित्व गर्ने वडाअध्यक्षहरुले करारका कर्मचारीको सम्वन्धमा ३७औ वैठकको निर्णयको वचाउ गरेका छन् । उनिहरुले नगर प्रहरी केसी माथि आक्रमण गर्नेहरुमाथि कारवाहीको माग समेत गरेका छन् ।
यसै विच पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य विदेशवाट फर्केपछि आन्दोलनरत पक्षहरुसंग संवाद गरि वार्ता र संवादको माद्यमवाट समाधान खोज्ने वताएपछि एमालेका वडाअध्यक्षहरुले आन्दोलन रोकेका छन् । पोखरा महानगरपालिकामा देखिएको गतिरोधलाई अन्त्य गर्न र विपक्षीहरुले राखेका मागहरु संवोधन गर्दै महानगरपालिकामा देखिएको समस्या समाधान गर्न ९ सदस्यीय समिती गठन गरिएको छ । महानगरपालिकामा कर्मचारी परिचालन तथा व्यवस्थापनका सम्बन्धमा देखिएको समस्या समाधानका लागि आज महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं.२५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाको संयोजकत्वमा महानगर प्रमुख स्तरिय सहजीकरण समिति गठन गरिएको पोखरा महानगरपालिकका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले जानकारी दिए । ३ दिन भित्र समस्या समाधानको उपाय सहितको सुझाव पेस तथा सहजीकरण गर्ने जिम्वेवारी समितिलाई प्रदान गरिएको छ । उक्त समितिको सदस्यहरूमा पोखरा महानगरपालिका वडा नं.४ का वडा अध्यक्ष देवकृष्ण पराजुली, वडा नं.५ का वडा अध्यक्ष विष्णु प्रसाद बराल, वडा नं.१३ का वडा अध्यक्ष किरण बराल, वडा नं.१५ का वडा अध्यक्ष तोरण बानिया, नगर सभा सदस्यहरू विनोद लामिछाने, रामचन्द्र आचार्य, कृष्ण कुमारी पौडेल र डाल्डादेवि भुजेल रहेका छन् । समितिलाई महानगरपालिकामा पछिल्लो समय देखिएको कर्मचारी परिचालन तथा व्यवस्थापन समस्याका सम्बन्धमा ३ दिन भित्र समस्या समाधानको उपाय सहितको सुझाव पेस तथा सहजीकरण गर्ने कार्यादेश दिइएको वताईन्छ ।