पोखरा भाद्र २२,
पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता (भगिनी सम्बन्ध) कायम भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका प्रमुख एइजी उएमुराले शुक्रवार हस्ताक्षर गरेका छन् ।
दुवै नगरहरूबिच मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको पोखरा महानगरपालिकाका नगर प्रमुख आचार्यले वताए । दुवै सहरहरूका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै भविष्यमा हुने द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्धको आयामका आधारमा प्रभावकारी बनाउँदै अगाडी बढाउन दुवै नगर प्रमुखहरु प्रतिवद्ध रहेको प्रमुख आचार्यले वताए ।
‘पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय नगरसँगको भगिनी सम्बन्ध जापानको कोमागानेसँग सन् २००१ मा कायम गरिएको र त्यसको निरन्तरताले विदेशका विभिन्न १४ वटा सहरसँग पोखराको मितेरी साइनो जोडिएको नगर प्रमुख आचार्यले वताए । पछिल्लो पटक १५ औँ अन्तर्राष्ट्रिय नगरका रूपमा जापानको होकुतो नगरसँग नयाँ सम्बन्धको सुरुवात गरेका गरिएकामे भन्दै प्रमुख आचार्यले यसले पोखरा जस्तै हिमालको काखमा रहेको होकुतोसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासहरूको आदानप्रदानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छन् । प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको सङ्गम पोखरा र होकुतो बिच कायम गरिएको मित्रताले दुवै सहरको पर्वतीय पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास प्रमुख आचार्यले गरेका छन् ।
अन्तर्राष्ट्रिय मैत्रीभावद्धारा प्रेरित भई दुवै सहरका नागरिकहरू बिच मैत्रीपूर्ण भावनाको विकास गर्दै शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन र पूर्वाधारको विकासमा आपसमा सहकार्य सहित दुई पक्षीय सांस्कृतिक अनुभव, ज्ञान सीप र प्रविधिको आदान प्रदानलाई महत्वका साथ अगाडी बढाउन आफूहरूका बिचमा समझदारी भएको होकुतो नगरका नगर प्रमुख उएमुराले वताए ।
पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङ, पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग लगायतले दुई देशका नगरहरु विचको सम्वन्त्रको वारेमा धारणा राखेका थिए ।
कार्यक्रमका लागि जापानबाट यामानासी प्रिफेक्चरका सभामुख मासाहितो उजुकी, सांसद फुजिमोतो योसिहिको, नेपाल जापान फ्रेन्डिसिप एसोसिएसनका हिरोमी इसिकावा लगायतको उपस्थिति रहेको थियो ।