पोखरा फगुन ६,
पोखरा महानगरपालिका–१४ छिनेडाँडामा प्रथम स्थानीय महोत्सव सुरु भएको छ । ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित पोखरा–१४ को आयोजनामा प्रथम स्थानीय महोत्सव सुरु भएको हो ।
पोखरा महानगरपालिका–१४ वडा कार्यालयले आयोजना गरेको प्रथम स्थानीय महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका विच उद्धघाटन गरे । सो अवसरमा बोल्दै प्रमुख आचार्यले मेला महोत्सवले व्यवसायीकरण र बजारीकरणका लागि योगदान पुर्याउने वताए ।
विभिन्न उत्पादक वस्तुहरुको प्रचारप्रसारमा महोत्सवले महत्वपूर्ण भूमिका प्रदान गर्ने भन्दै प्रमुख आचार्यले ‘पोखरा–१४ ले आयोजना गरेको स्थानीय महोत्सवले वडा भित्र उत्पादन हुने कृषि तथा उत्पादनशील वस्तुहरुको बजारीकरणका लागि सहयोग पुग्ने विश्वास ब्यक्त गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वडामा आउने सडक रातको समयमा अन्धकार बन्ने गरेको गुनासो आएकाले त्यसलाई चाँडै नै बत्ती जोड्न समन्वय भइरहेको प्रमुख आचार्यले वताए ।
पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यसहित पहिलो चोटि महोत्सव आयोजना गरेकोे बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोकर्ण कार्कीले वडादेखि विभिन्न क्लब संघसंस्थाले आयोजना गर्ने मेला महोत्सवले व्यापार व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
पोखरा महानगरपालिका–१४ ले आयोजना गरेको प्रथम स्थानीय महोत्सवको अवसरमा तत्कालिन पोखरा नगर हुँदाका १४ र १८ वडाका पूर्ववडाध्यक्षलाई सम्मान गरिएको थियो ।
वडा कार्यालयले महोत्सवको अवसरमा पूर्व वडाध्यक्ष स्वर्गीय तोरणबहादुर केसी, कोमल बहादुर गुरुङ, स्वर्गीय दुर्गाबहादुर कार्की, स्वर्गीय प्रेमबहादुर परियार, जगत बहादुर कार्की, क्षेत्रबहादुर केसी, प्रेमबहादुर कार्की र वडाका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
दुईदिनसम्म सञ्चालन हुने स्थानीय महोत्सवमा पोखरा–१४ भित्रका विभिन्न व्यवसाय प्रवद्र्धनका व्यवसायीहरुलाई १ सय वटा स्टल निशुल्क रुपमा प्रदान गरिएकोे वडाध्यक्ष कार्कीले बताए । महोत्सवमा वडामा उत्पादन भएका कृषि जन्य खाद्यान्न, वडाभित्र उत्पादन भएका उत्पादित वस्तुहरु, अटो इन्जिनिरिङका सामानहरु महोत्सवमा राखिएको छ । सोमबारसम्म सञ्चालन हुने महोत्सवमा पोखरा–१४ भित्रका टोलस्तरीय रस्साकस्सी प्रतियोगिता, आमासमूहबीच रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता र सेलरोटी पकाउने प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक रामजी केसीले बताए ।