पोखरा फागुन १९,
पोखरा महानगरपालिका वडा नं – १५ को महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका महिला दिदीबहिनीहरूको क्षमता अभिवृद्धि गर्नको लागि डेढ महिनादेखि सुरु हुँदै आएको महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम विहिवार सम्पन्न भएको हो ।
कार्यक्रम समापनको पूर्व सन्ध्यमा वडाले तालिममा सहभागीहरू बिच विहिवारनै वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो ।’सामाजिक रूपान्तरणका लागि महिलाहरूको भूमिका’ विषयक प्रतियोगितामा २१ जना प्रतियोगीले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागि मध्येवाट सानिपाटन आमा समूहकी विनु ढकाल प्रथम भएकी छन् । भने अनु गैरे द्वितीय, मनु थापा तृतीय र सीता रानाभाट र निर्मला भण्डारीले सान्त्वना भएका छन् । विजेताहरूले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १–१ हजार प्राप्त गरेका छन् ।
समापन कार्यक्रममा मन्तव्य ब्यक्त गर्दै गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले महिलाहरू शिक्षित भए बालबालिकाले सिक्ने अवसर पाउने र तीनै बालबालिका भविष्यका कर्णधार भएकाले महिलाहरू चेतनशील बने मात्रै समाज सम्भयतामा अगाडी बढ्ने बताए ।
कार्यक्रमका सभापति तथा वडा नं १५ का वडा अध्यक्ष तोरण बानियाँले वडाका जनप्रतिनिधिहरूको साझा छलफलबाट वडावासी महिला दिदीबहिनीहरूको क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गरेर यस कार्यक्रमको आयोजना गर्न सफल भएको भन्दै ४५ दिने क्षमता अभिवृद्धि कार्यक्रममा वडाका २९ आमा समूहका २५७ जनाले सहभागिता जनाएको जानकारी दिए ।
कार्यक्रमका संयोजक तथा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियारले कार्यक्रममा दिदी बहिनीहरूको उत्साहजनक सहभागिता रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।
वडा नं –१५ का निवर्तमान वडा अध्यक्ष प्रकाश पौडेलले क्षमता अभिवृद्धि तालिममा दिदीबहिनीहरूले सिकेका र जानेका कुराहरूलाई दिदी वहिनहिरु विच आदानप्रदान गर्न सके सबै जनाले सिक्ने अवसर प्राप्त गर्ने बताए । वडा न्यायिक समिति सदस्य तथा पूर्व वडा सदस्य पार्वती कार्कीले ३ दिने महिला क्षमता अभिवृद्धि कार्यक्रमले महिलाहरूमा नेतृत्वदायी भूमिकाको विकास हुने आशा व्यक्त गरिन् । गत माघ १६ गतेबाट सुरु भएको महिला क्षमता अभिवृद्धि कार्यक्रममा पत्रकार शुष्मा पौडेल र जमुना वर्षा शर्माले प्रशिक्षण दिएका थिए भने, ४५ –४५ जनाको समूह बनाई ३ –३ दिन तालिम सञ्चालन गरिएको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य आशिष भण्डारीले गरेका थिए ।