पोखरा वैशाख २४,
पोखरा महानगरपालिकाले पोखरा विश्वविद्यालय तथा अन्य क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कालिका क्याम्पससँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको हो । समझदारीमा महानगरपालिका र पोखरा विश्वविद्यालय सहित उल्लेखित क्याम्पसहरू बिचमा व्यवसाय दर्ता, कर सचेतना तथा राजश्व सङ्कलन कार्यमा जानकारी प्रदान गर्न स्नातक वा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई प्रशिक्षार्थीको रूपमा परिचालन गर्ने उल्लेख छ । समझदारी अनुसार पोखरा विश्वविद्यालय वा अन्य क्याम्पसहरूबाट सिफारिस गरिएका मध्ये स्वयंसेवी खटाउने र नखटाउने वा तोकिएको सङ्ख्यामा खटाउने अधिकार महानगरपालिकामा रहने पोखरा महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले आफ्नो आवश्यकता अनुसारको प्रशिक्षार्थी माग गरी पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय क्याम्पस र कालिका क्याम्पसमा पत्राचार गर्नुपर्नेछ । माग भएका विद्यार्थीहरूलाई आवश्यक प्रशिक्षण प्रदान गरी फिल्ड कार्यमा पठाइने छ । यसरी परिचालन गरिने प्रशिक्षार्थिहरुलाई महानगरपालिकाले आफ्नो कार्यविधिको अधीनमा रही दैनिक खाजा खर्च बापतको रकम उपलब्ध गराउनेछ भने, प्रशिक्षार्थीले गरेको कार्य विवरण प्रत्येक हप्ता सम्बन्धित वडाले प्रमाणित गरी अभिलेख राखिने छ ।
समझदारी पत्र अनुसार तोकिएका प्रशिक्षार्थी विश्वविद्यालय वा क्याम्पसहरूले उपलब्ध गराउनु पर्नेछ । यसो गर्दा प्रशिक्षार्थीहरूको पठनपाठनमा कुनै अवरोध सृजना हुन नहुने व्यवस्था गरिनु पर्ने छ भने, प्रशिक्षार्थीले प्रचलित कानुन विपरीत कार्य गरेमा विश्वविद्यालयले उपयुक्त सजाय गर्न सक्नेछ । यसरी खटिएका प्रशिक्षार्थीले पोखरा महानगरपालिकाले तोकेको स्थानमा गई वडा कार्यालयको प्रत्यक्ष निगरानीमा तोकिए बमोजिमको कार्य गर्नु पर्नेछ । आवश्यक प्रशिक्षण लिनु पर्ने, पोखरा महानगरपालिका र सम्बन्धित वडा कार्यालयको प्रत्यक्ष निर्देशन र समन्वयमा कार्य गर्ने, आफूले गरेको दैनिक कार्यको विवरण प्रत्येक दिन उल्लेख गरी प्रत्येक हप्ता कार्यालयमा पेस गर्नु पर्ने उल्लेख छ ।

सम्झौता सुरुवात भएको मितिले १८० दिन सम्म कायम हुनेछ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको समझदारी पत्रमा पोखरा विश्वविद्यालयका कार्यक्रम निर्देशक श्रीजन ज्ञवाली, पृथ्वी नारायण क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्रा.डा सरोज कोइराला, कालिका बहुमुखी क्याम्पसका प्रमुख विरेन्जी गौतम, जनप्रिय क्याम्पसका सहायक क्याम्पस प्रमुख रमेश खड्का र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र वित्त व्यवस्थापन महाशाखाका प्रमुख जयराज पौडेलले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा नगर प्रमुख आचार्यले समझदारी अनुसार पोखरा महानगरपालिका र विश्वविद्यालय तथा क्याम्पसहरूका बिचमा समन्वयको वातावरण तयार गर्नुका साथै सामुदायिक क्याम्पसहरू प्रति विद्यार्थीको आकर्षण समेत बढ्ने विश्वास व्यक्त गरे । यस प्रकारको कामवाट महानगरको राजश्व सङ्कलनमा समेत बढोत्तरी आउने विश्वास प्रमुख आचार्यल गरेको प्रमुख आचार्यका प्रेस संयोजक भिम थापाले पठाएको समाचारमा जनाईएको छ । । समझदारीको हस्ताक्षर कर्ताहरूले महानगरपालिकासँग समन्वय गरी विद्यार्थीहरूलाई व्यवसाय दर्ता, कर सचेतना तथा राजश्व सङ्कलन कार्यमा परिचालन गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । समझदारी अनुसार पोखरा विश्वविद्यालयका २४ जना, पृथ्वीनारायण क्याम्पसका ५४ जना, जनप्रिय बहुमुखी क्याम्पसका २९ जना र कालिका क्याम्पसका ३१ जना गरी १४८ जना विद्यार्थीहरू परिचालन हुने वताईएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।