पोखरा आषाढ ७,
पोखराको गैहपटनमा रहेको श्री प्राईम बहुउद्देश्यीय सहकारी संस्था लि. ठगी मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
उक्त सहकारीकोे बचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसूरमा संलग्न रही फरार रहेका पर्वत जिल्ला मोदी गा.पा. वडा नं. १ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १८ बस्ने ५५ वर्षकी धन कुमारी गुरुङ, सोही ठाँउ घर भई हाल पोखरा म.न.पा. वडा नं. ८ बस्ने ४७ वर्षकी सिता कुमारी गुरुङ र कास्की जिल्ला पोखरा म.न.पा. वडा नं. ३ तेर्सापट्टी बस्ने वर्ष ४७ का जीवन सार्कीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले मिति आषाढ ६ गते गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वसन्त कुमार शर्माले जानकारी दिए । उनिहरुलाई कास्की जिल्ला अदालत समक्ष पेश गरिएको समेत शर्माले वताए । उक्त सहकारीको रकम हिनामिना गरेको अभियोग लागेका संस्थाका प्रमुख कार्यकारी सुरेन्द्रमणि पौडेल, ब्यवस्थापक निरु थापा, पूर्व अध्यक्ष निदेश कोईराला, वर्तमान अध्यक्ष शंकर कार्की लगायत ७ जनालाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय विहिवार मात्रै कास्की जिल्ला अदालतले गरेको थियो । उक्त सहकारी ठगी प्रकरणमा ६५ जनालाई प्रतिवादी बनाइएको छ । सो मुद्दामा ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित अदालतमा मुद्दा विचाराधीन रहेको छ ।