पोखरा श्रावण २३,
पोखरा महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सुरु गरेको छ । महानगरपालिकाका फोहर वोकेका गाडिहरु मंगलवार विहान फोहर विसर्जन गर्न पोखरा ३२ स्थित लामेआहाल पुगेका छन् । पोखरामा विगत १३ दिन सम्म उठ्न नसकेको फोहर आज अस्थायी ल्याण्डफिल्ड साईटमा लगेर फालिएको हो । विभिन्न मितिमा पोखरा वजारवाट उठाएर फोहर वोक्ने गाडिमा राखिएको फोहर लिएर ति गाडिहरु लामेआहाल तर्फ गएका हुन् । यस अघि स्थानियहरुले फोहर फाल्न रोक्न अन्तरिम आदेशको माग गर्दै दायर गरेको मुद्धामा उच्च अदालत पोखराले आईतवार अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेको थियो । त्यस पछि पनि उक्त ठाँउमा फोहर फाल्न अवरोध हुन सक्ने भन्दै सोमवार जिल्ला सुरक्षा समितिको वैठक वसेको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव धिमिरेको अध्यक्षतामा वसेको वैठकले मंगलवार देखि पोखराको फोहर लामेआहालमा रहेको अस्थायी ल्याण्डफिल्ड साईटमा लगेर फाल्ने र शान्ति सुरक्षको प्रवन्ध मिलाउने निर्णय गरेको थियो । सो निर्णय पछि पोखरा महानगरपालिकाले मंगलवार विहानै देखि फोहर वोकेका गाडि लामेआहाल तर्फ पठाएको छ ।
पोखरावाट ३० वटा फोहर वोकेका गाडिहरु लामेआहाल गएको र फोहर फालिरहेको लामेआहाल पुगेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका प्रेस संयोजक भिम थापाले जानकारी दिए । हाल लामेआहाल नजिकै केही स्थानीयहरु जम्मा भएको वताईएको छ । उनिहरुले फोहर फाल्न अवरोध गरेमा शान्ति सुरक्षा कायम गर्न वल प्रयोग गर्न सकिने जिल्ला सुरक्षा समितिको वैठकले निर्णय गरिसकेको छ ।