पोखरा फागुन १८,
आगामी वैशाख १५ गते सम्पन्न हुन गईरहेको इलाम क्षेत्र नं २ र वझाङ जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा १ को उप निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको जनाएको छ । स्वीकृत कार्यक्रम अनुसार २०८० चैत्र २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गरिने जनाईएको छ ।
उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि २०८० चैत्र २५ गते बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म , सोही दिनको दिउसो ३ बजे देखि चैत्र २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
२०८० चैत्र २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउसो १ बजेदेखि ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको प्रेस बिज्ञप्तीमा जनाईएको छ । कार्यक्रम अनुसार २०८१ बैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उक्त बन्दसूचीबाट नाम हटेको अवस्थामा बाहेक यस उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको समेत आयोगले स्पष्ट पारेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।