पोखरा असोज ३०,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम प्रभावित भएको बताएका छन् । ६९ औँ प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयले वुधवार पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भईसक्नुपर्नेमा २०१२ सालको ऐन देखाएर समायोजना नगरिएको भन्दै असन्तुष्ठी ब्यक्त गरे । मुख्यमन्त्री पाण्डेले संविधानको व्यवस्था र सङ्घीयताको मर्म अनुसार संघ सरकारले तत्काल प्रहरी समायोजन गर्नुपर्नेमा जोड दिएका थिए ।
मुख्यमन्त्री पाण्डेले सिमित साधनस्रोतका बाबजुद गण्डकी प्रदेशमा नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको वताउदै देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै आएको वताए । नेपालमा जहानीय राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्न २००७ सालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र मुक्ति सेनासँग नेपाल प्रहरीको सम्बन्ध जोडिएको उल्लेख गर्दै प्रहरी संगठनको ऐतिहासिक गरिमा र महत्व रहेको वताए । प्रहरीलाई राज्य र आम नागरिकलाई शान्ति सुरक्षा दिनुपर्ने गहन जिम्मेवारी छ । त्यसैलेपनि सुरक्षाकर्मीसँग नागरिकको अपेक्षा धेरै रहेको मुख्यमन्त्री पाण्डे बताए ।
गण्डकी प्रदेश सरकारले आफु मातहत नभएपनि प्रदेश भित्रका नागरिकको सुरक्षा, सेवा गरिरहेका सुरक्षाकर्मीलाई सहयोग गर्ने गरी कार्यक्रम र बजेट बिनियोजन गरेको उनले बताए । आर्थिक वर्ष २०८१÷८२ मा कार्यन्वयन हुने गरी प्रदेश सरकारले प्रहरी चौकीहरु निर्माण, तालिम केन्द्रको संरचना, प्रहरी अस्पतालको भौतिक संरचना निर्माण सिसिटीभि जडान, घेराबार, र चौकीहरुको भौतिक पूर्वाधारका योजनामा १३ करोड ९५ लाख बजेट बिनियोजन गरेको सो अवसरमा वताएका थिए ।
कार्यक्रममा प्रहरी दिवसको अवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारी तथा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरु र गण्डकी प्रदेश प्रहरीलाई विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिहले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको वताईन् । सो अवसरमा सिंहले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको शुभकामना सन्देश समेत बाचन गरेकी थिईन् ।
कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायधिस डा.रतन बहादुर वागचन्द, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङ, पश्चिम पृतना हेडक्वाटर पोखराका पृतना पति उपरथी सन्तोष बल्लभ पौडेल लगायत समाजका विभिन्न क्षेत्रका विसिष्ट ब्यक्तित्वहरु र प्रहरी अधिकृत तथा कर्मचारीको सहभागिता रहेको थियो ।